: मोरङको रंगेलीमा ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित सोमबार साँझ एकै परिवारका तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई साेमबार साँझ ७: ५० बजे पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा २९ ग्राम ४८० मिलिग्राम तौलको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया पत्नी सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्।
चेकजाँचका क्रममा सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाई ल्याएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको लागूऔषधसहित तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।