: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जनताको विश्वास गुमाएको बताएका छन्।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार वालिङमा सम्बोधन गर्दै पौडेलले सरकारले आफूले बोलेका कुरालाई कानुन झैँ ठान्ने गरेको उल्लेख गरे। निर्वाचनमा धेरै सिट जित्दैमा सरकारले आफूलाई संविधानभन्दा माथि ठान्न नहुने उनको भनाइ थियो। ‘संविधानभन्दा माथि कोही छैन। सत्ता र शासन विधिअनुसार चलाउनुपर्छ,’ उनले भने।
पौडेलले बहुदलीय समाजवादको फ्रेमभित्र कन्टेन्ट बदल्नुपर्ने उल्लेख गर्दै बीपीको समाजवादलाई समतामा आधारित समाजवाद बनाउनुपर्ने बताए। तत्कालीन अवस्था र वर्तमान अवस्थाका सन्दर्भ र समाज परिवर्तन भएका छन्। समय र सान्दर्भिक विषयवस्तु दिएर समाज विकासमा योगदान गर्न नेपाली कांग्रेसका कार्यकर्तालाई महामन्त्री पौडेलले आग्रह गरे। महामन्त्री पौडेलले भने, ‘नेपालको राजनीतिमा नेपाली कांग्रेस एक विश्वविद्यालय हो। तत्कालीन अवस्थामा बहुदलीय व्यवस्थाका कुरा गर्दा पागल, फरक मतको कदरका कुरा उठाउँदा विरोध हुन्थ्यो। लोकतन्त्रको शब्द नागरिकका बीचमा लैजाने पहिलो पार्टी नेपाली कांग्रेस नै हो।’
कांग्रेसलाई कमजोर बनाउने खेल सुरु भएको बताउँदै पार्टीका निम्ति कुनै किसिमको सौदाबाजी नभएको पौडेलले दाबी गरे। सभापति गगन थापामाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै उनले भने, ‘थर्काएर, तर्साएर हुँदैन। छानबिन गर्नुहोस्। प्रश्न तपाईंमाथि पनि छ। प्रश्न उठेपछि अनुत्तरित हुन पाइँदैन। आफूमाथिका प्रश्नको पनि जवाफ दिनुपर्छ।’ महामन्त्री पौडेलले थपे, ‘अल्गोरिदमको प्रयोग गरेर मात्र हुँदैन।’
रूपान्तरणको अभियानमा रहेको नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा संगठित हुन उनले आग्रह गरे। मङ्सिर महिनाभित्र जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने समेत उनले जानकारी गराए। निर्वाचनमा पराजित हुने र विजयी हुने सँगसँगै हिँडे मात्र पार्टीको संगठन र निर्वाचन जित्न सकिने बताए।
स्थानीय तहको निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदै विगतका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए। टिकट वितरणलाई पारदर्शी एवं डिजिटल प्रविधिको उपयोग गर्दै क्रियाशील सदस्यहरूबाट उम्मेदवार चयन गर्नेगरी व्यवस्था मिलाइएको बताएका छन्।