: पार्टीको समानान्तर महाधिवेशनको तयारीमा जुटेको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर ५ बाट प्रदेश अधिवेशन गर्ने जनाएको छ। सभापति गगन थापा नेतृत्वको महाधिवेशनलाई अवैधानिक भन्दै देउवा पक्षले १५औं महाधिवेशनको तयारी गरिरहेको छ।
वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा रहेको देउवा पक्षले आगामी २१ देखि २४ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
देउवा पक्षले ५ मंसिरबाट सातवटै प्रदेशको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। ५ मंसिरबाट गण्डकी प्रदेशको अधिवेशन सँगै प्रदेश अधिवेशन सुरुवात गर्ने निर्णय गरिएको देउवा पक्षीय नेता एवं १५औं महाधिवेशन तयारी सचिवालय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जनाए।
उनका अनुसार मंसिर ५ मा गण्डकी प्रदेश, ७ मा लुम्बिनी तथा १० र ११ मंसिरमा बागमती प्रदेशको अधिवेशन हुनेछ। त्यस्तै, १४ मंसिरमा मधेस भनिएको छ। तर मधेसमा क्षेत्रीय अधिवेशन पनि सम्पन्न नभएकाले मिति हेरफेर हुन सक्छ भनिएको छ। १५ मंसिरमा सुदूरपश्चिम र कर्णालीको अधिवेशन हुने भएको छ। कोशी प्रदेशको अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने मिति सार्वजनिक भइसकेको छैन।
उनका अनुसार हालसम्म १ सय ४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ। हालसम्म ४६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, २ सय ८० प्रदेशसभा निर्वाचन क्षेत्र र ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३० तहमा अधिवेशन सम्पन्न भएको छ। अधिकांश वडाको अधिवेशन पनि सम्पन्न भइसकेको उनले बताए।
बाँकी रहेका अधिवेशन १८ मंसिरभित्र सम्पन्न गरेर महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आइपुग्ने समय पनि दिने तयारी कांग्रेसको छ।
खुलामञ्चमा उद्घाटन, भृकुटीमण्डपमा बन्दसत्र
देउवा पक्षले समानान्तर महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ। यसअघि कांग्रेस संस्थापन पक्षले १८ देखि २३ असोजसम्म खुलामञ्चमा महाधिवेशन आयोजना गरेको थियो। देउवा पक्षले पनि खुलामञ्चमा उद्घाटन र बन्द सत्र गर्ने भएको छ। भने निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा सञ्चालन गर्ने भएको छ। महाधिवेशनमा ८ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान चुनदेवी कांग्रेसको छ।
देउवाको आरोप : कांग्रेस र एमालेका नेता छानिछानी निशानामा
समानान्तर महाधिवेशनको तयारीसँगै देउवाले पार्टीभित्रको राजनीतिक वैधता र आफ्नो समूहको अस्तित्वको पक्षमा अभिव्यक्ति दिँदै आएका छन्। शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाए।
आन्दोलनका क्रममा आफ्नो घर, कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुख्र्यौंली घरमा आगजनी भएको उल्लेख गर्दै उनले अन्य दलका नेताहरूका घरमा त्यस्तो घटना नभएको दाबी गर्दै भने, ‘मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र बीपी कोइरालाको पुख्र्यांैली घरसमेत जलाइयो। तर अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन। एमाले र कांग्रेसका नेताहरूलाई मात्र छानिछानी निशाना बनाइएको देखियो।’
उनले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरे। बीपी कोइरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान र पार्टी निर्माणमा त्याग गरेका नेता कार्यकर्ताको इतिहास बिर्सन नहुने उनको भनाइ थियो। आफू जनताको सहयोग र समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा जोड दिए।
शशांकको जोड : कांग्रेस एकताबाटै लोकतन्त्रको रक्षा
देउवा नेतृत्वको समूहले महाधिवेशनको तयारी गरिरहँदा १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले भने पार्टी एकताको आवश्यकता औंल्याएका छन्।शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भएमात्रै देशको समुन्नति, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताए। आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै उनले त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, नेता एनपी साउदले पार्टीका मूल्य, मान्यता र आदर्श संरक्षण गर्दै आन्तरिक अन्तरद्वन्द्वलाई राजनीतिक रूपमा व्यवस्थापन र समाधान गर्नुपर्ने बताए। वैधानिकताको विषयमा आफूहरूले न्याय पाउने विश्वास पनि उनले व्यक्त गरे।
कांग्रेसभित्र संस्थापन र देउवा पक्षबीचको विवादले समानान्तर महाधिवेशनको अवस्था सिर्जना गरेको छ। देउवा पक्षले संगठनात्मक संरचना विस्तार गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाइरहँदा पार्टीको आधिकारिकता र नेतृत्वको वैधानिकताको विवाद पनि थप पेचिलो बन्दै गएको छ।