: नोभेम्बर ९ देखि टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालबाट ५ जना मन्त्री सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोपमा सहभागिता जनाउने निर्णय सरकारले सार्वजनिक गरेको थियो। तर, अर्थमन्त्री स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता पनि कोपमा सहभागी भएका छन् ।
मन्त्रीमात्र होइन, १६ जना सांसद पनि कोपमा सहभागी बन्दै छन्। सांसदहरू कोपमा जाने र आउने क्रम जारी छ। कुनै न कुनै भूमिका लिएर सांसदहरू सम्मेलनमा सहभागी बनिरहेको वन मन्त्रालयका अधिकारीहरू बताउँछन्। तर, मन्त्री र सांसदमात्र होइन, विभिन्नमन्त्रीका सचिवालयका ‘असम्बन्धित’ व्यक्तिहरू पनि कोपमा सहभागी भएको भन्दै आलोचना भइरहेको छ।
जलवायु तथा वातावरणको क्षेत्रमा सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएको कृषि, वन तथा वर्यावरण मन्त्रालयले भने वार्तामा टोलीको संख्या नै नपुगेको बताएको छ। वन मन्त्रालयबाट २० भन्दा कम प्रतिनिधि कोपमा पुगेकाले सबैतिरका वार्ता र सम्वाद गर्न संख्या अपुग भएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका ‘रिसर्चर’ प्रकाश लामिछाने नेपालबाट २ सयभन्दा कम प्रतिनिधि सम्मेलनमा पुगेको बताए। लामिछानेले भने, ‘वन मन्त्रालयबाट २० जनाभन्दा कमको टोली छ। वार्ताका लागि सदस्य नपुगेको अवस्था छ।’ मन्त्रालयका तर्फबाट कोपमा सहभागी भइरहेका अर्का एक प्रतिनिधिले कोपमा सांसदहरूको धेरै उपस्थिति हुनु समस्या नभएको बताए। उनले भने, ‘सहभागीको क्रियाकलाप कस्तो हुन्छ ? सम्मेलनबाट कस्तो नतिजा ल्याउन सक्छन् ? प्रस्तुति कस्तो हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।’ सहभागीहरू सरकारी ढुकुटीबाट पैसा खर्च गरेर नगएको उनको दाबी छ। ‘सबै सहभागी सांसदहरू केही न केही भूमिका लिएर साइडलाइन इभेन्टमा उपस्थित हुनुहुनेछ,’ ती अधिकारीले भने, ‘कोपमा उहाँहरूको उपस्थितिले महत्व राख्ने भएकाले उहाँहरू आउनुभएको हो। विकास साझेदारहरू संघ–संस्थाले खर्च गरेर उहाँहरूलाई यहाँ ल्याएका हुन्।’
कोपमा सहभागी सांसदहरू
मन्त्रालय स्रोतका अनुसार १६ जना सांसद कोपमा सहभागी हुँदै छन्। सांसदहरू जाने, आउने भइरहेको मन्त्रालय स्रोतले जनायो। कोपमा सहभागी हुने सांसदहरूमा अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, आशिष गजुरेल, कमल सुवेदी, धर्म केसी, नीता घलानी, परशुराम तामाङ, प्रमिला कुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे, राधिका रम्तेल, सरस्वती लामा, सागर ढकाल, सुम्निमा उदास, सुनीलबहादुर थापा, श्रीराम न्यौपानेलगायत छन्।
कुन देशका कति प्रतिनिधि ?
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धि (यूएनएफसीसीसी) का अनुसार सबै देशबाट हालसम्म ९२ हजारले रजिस्टे«सन गरेका छन्। सबैभन्दा धेरै प्रतिनिधि टर्कीएबाट २ हजार ९ सय ५० भन्दा बढी छन्। आयोजकको हिसाबले पनि टर्कीका सहभागी धेरै छन्। त्यसैगरी, ब्राजिलबाट १ हजार ९ सय ९४, नाइजेरियाबाट १ हजार ५ सय ६, चीनबाट १ हजार २१, इन्डोनेसियाबाट ९ सय ७८, अस्ट्रेलियाबाट ८ सय ३५, युगान्डाबाट ६ सय २७, इटालीबाट ६ सय ७, जापानबाट ५ सय ८८, काजकस्तानबाट ५ सय ५७ र यूकेबाट २ सय ५५ जना सहभागी छन्। यूएनएफसीसीसीले नेपालबाट हालसम्म ७० जना प्रतिनिधि सहभागी भएको अनुमान गरेको छ। यूएनएफसीसीसीले नेपालका प्रतिनिधिमण्डललाई करिब ७० देखि ८० वटा औपचारिक ब्याच वितरण गरिएको जनाएको छ।
कोपमा सहभागी भएका जलवायुवित्तका विज्ञ डा . विमल रेग्मीका अनुसार सरकारका तर्फबाट सहभागी भएकालाई ‘पार्टी’ भन्ने गरिन्छ। कोपका नेगोसिएसन गर्ने मुख्य व्यक्तिहरू उनीहरू हुन्छन्। धेरै प्रतिनिधि भएमा ओभरफलो दिन्छ। सरकारी प्रतिनिधि टोली भए पनि मुख्य वार्ता टोलीभन्दा फरक हुन्छन्। सरकारी प्रतिनिधिलाई रातो ब्याच दिइन्छ भने संघसंस्थाबाट गएकाहरूलाई पहेंलो ब्याच दिने गरिन्छ। उनीहरू पर्यवेक्षक वा अब्जर्भर मात्रै हुन्छन्।
विभिन्न संघसंस्था, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सहभागी भएकाहरूलाई यूएनएफसीसीसीले जोडेको छैन। तर, आधिकारिक संख्या सम्मेलनपछि सार्वजनिक गर्ने बताएको छ। तर, नेपालबाट करिब १ सय ५० जना सरकारी प्रतिनिधि हुनसक्ने कृषि मन्त्रालयले जनाएको छ।
दर्जनौं उच्चस्तरीय वार्तापछि नेपाल आए खनाल
परराष्ट्रमन्त्री शिशिर खनाल विश्व जलवायु सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किसकेका छन्। कोपको सुरुवातमा नै टर्की पुगेका खनालले उच्चस्तरीय बैठक तथा द्विपक्षीय तथा द्विपक्षीय छलफलहरूमा सहभागी बनेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालको उपस्थितिमा हिमाली मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम भएको मन्त्रालयले जनाएको छ। मन्त्री खनालले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली चाहिने, हिमाली क्षेत्रमा वास्तविक तथ्यांक संकलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी स्थानीय भाषामा सहज पहुँचलगायतका विषय औंल्याएका थिए।