मुख्य समाचार
लन्डनमा ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी
लन्डनमा ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी

। लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ।

लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो।

करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल (झन्डै पाँच किलोमिटर) लामो मार्गको दुवैतर्फ लाखौँ दर्शक उपस्थित थिए। विभिन्न सैनिक तथा सांगीतिक ब्यान्ड, सांस्कृतिक समूह र झाँकीसहित अघि बढेको परेडमा नेपाली समुदायको प्रस्तुति विशेष आकर्षण बनेको थियो।

नेपाली समुदायको प्रदर्शनीको अग्रभागमा बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज ब्याण्डले सांगीतिक प्रस्तुतिसहित मार्च गरेको थियो। त्यसपछि नेपालको राष्ट्रिय झण्डा फहराउँदै पृथ्वीनारायण शाह र गोर्खाली सैनिकको भेषमा सजिएका सहभागी अघि बढेका थिए।


बुद्धको प्रतिमा बोकेका लामा गुरु तथा नेपाली मन्दिरका पण्डित, लाखे नाच र नेवारी संस्कृति झल्काउने प्रस्तुतिले परेडलाई थप आकर्षक बनाएका थिए। त्यसपछि १६ जनाको समूहले भिक्टोरिया क्रस विजेता गोर्खाको शालिक रथमा बोकेर परेडमा परिक्रमा गरेको थियो।

सो अवसरमा एक दर्जन बढी नेपाली जातजाति तथा समुदायका मौलिक भेषभूषा, भाषा, संस्कृति र परम्परा झल्काउने प्रस्तुतिसंगै कलाकारहरुले गोर्खाली सैनिकको भेषमा आकर्षक खुकुरी नाच प्रस्तुत गरेका थिए।

गोर्खाली सैनिकको वीरता र बेलायतका लागि उनीहरूले पुर्‍याएको योगदान झल्काउने शालिकसहितको रथ र खुकुरी नाचको प्रस्तुति देख्दा सडकका दुवैतर्फ उभिएका दर्शकले ताली र हुटिङसहित सम्मान व्यक्त गरेका थिए।

लन्डनमा अढाई दशकदेखि मौलिक लाखे नाच प्रदर्शन गर्दै आएका कलाकार विनोद चिपालुले प्रस्तुत गरेको लाखे नाचले पनि दर्शकको मन जितेको थियो।

प्रतिभा नक्षत्रकी कोरियोग्राफर रेनुका मगरले परेडमा एक दर्जनभन्दा बढी नेपाली जातजाति तथा समुदायका मौलिक संस्कृति, परम्परा र भेषभूषा समेटिएको बताइन्। नेपाली संस्कृतिसँगै गोर्खाहरूको इतिहास र योगदानलाई कलात्मक रूपमा चित्रण गर्ने प्रयास गरिएको उनले जानकारी दिइन्।

पृथ्वीनारायण शाहको भेषमा सहभागी प्रतिभा नक्षत्रका निर्देशक लछुमन गुरुङले आफ्नो प्रस्तुतिमार्फत एकताको सन्देश दिन खोजिएको बताए। प्रतिष्ठित अन्तर्राष्ट्रिय परेडमा नेपालीपन प्रदर्शन गर्न पाउनु नेपाल प्रवर्द्धनको महत्वपूर्ण अवसर बनेको उनले उल्लेख गरे।

परेडमा नेपाली समुदायको सहभागिताका लागि समन्वय गरेका व्यवसायी सुजन कटुवाल एमबीईले लर्ड मेयर परेडमा नेपाली सहभागितालाई बेलायत–नेपाल सम्बन्धको अर्को महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे।

नेपाली कला, संस्कृति र गोर्खाली विरासतको प्रस्तुतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै बेलायतमा नेपालको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

प्रतिभा नक्षत्रका संस्थापक राजेन्द्र खसले प्रतिष्ठित अन्तर्राष्ट्रिय परेडमा पहिलोपटक सहभागी भएर नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित भएको बताए। आगामी दिनमा पनि नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता अवसर र प्लेटफर्मलाई निरन्तर सदुपयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

लन्डनको म्यान्सन हाउसबाट सुरु भएको परेड बैंक, सेन्ट पल्स क्याथेड्रल र फ्लीट स्ट्रिट हुँदै रोयल कोर्ट अफ जस्टिससम्म पुगेपछि पुनः म्यान्सन हाउस फर्किएर सम्पन्न भएको थियो।

सिटी अफ लन्डनको व्यवसायिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी रहने लर्ड मेयरको नियुक्तिका अवसरमा आयोजना हुने यो परेडको परम्परा आठ सय वर्षभन्दा पुरानो छ।

अन्तराष्ट्रिय स्तरमै प्रतिष्ठित यो परेडमा सहभागी हुँदा नेपाली समुदाय उत्साहित बनेको छ भने गोर्खाली पहिचान र नेपाली संस्कृति झल्काउने मौलिक प्रदर्शनीले परेडमा विशेष ध्यान आकर्षण गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...