: अरब गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विभाजन अन्त्य गरी भावनात्मक एकता कायम गर्ने प्रयाससँगै नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को तयारी तीव्र पारिएको छ।
आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा हुने सम्मेलनलाई ‘सहयात्रा’ अवधारणामार्फत मध्यपूर्वका नेपाली श्रमिक, सामाजिक संघ–संस्था र उद्यमीको साझा अभियान बनाउने तयारी गरिएको हो।
एनआरएनएका पाँच पूर्वअध्यक्षले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सम्मेलनको प्रमुख आतिथ्यताका लागि निमन्त्रणा हस्तान्तरण गरेका छन्। भेटमा उपेन्द्र महतो, जीवा लामिछाने, विनोद कुँवर र बद्री केसी सहभागी थिए।सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई बलियो बनाउनुपर्ने र अनावश्यक राजनीतिक हस्तक्षेप हुन नहुने बताए। पूर्वअध्यक्ष शर्माले संस्थाभित्रको असमझदारी अन्त्य गरी सबैलाई साझा उद्देश्यमा जोड्ने प्रयास भइरहेको जानकारी दिए।
‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने नारासहित आयोजना हुने सम्मेलनमा मध्यपूर्वका नेपाली श्रमिकका अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारि श्रमिक, वैधानिक रेमिट्यान्स, १० प्रतिशत आईपीओ कोटा र विदेशमा रहेका नेपालीको मतदान अधिकारका विषय प्राथमिकतामा रहनेछन्।
एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष डा. हेमराज शर्माले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र हकहितलाई संस्थाको प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए। मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनमा नेपाल सरकारका अधिकारी, एनआरएनएका पदाधिकारी तथा मध्यपूर्वका विभिन्न देशका प्रतिनिधिसहित करिब ४ सय जनाको सहभागिता रहनेछ।
दोहास्थित रेडिसन ब्लु होटलमा हुने सम्मेलनका लागि करिब २ लाख ५० हजार कतारी रियाल बजेट अनुमान गरिएको छ। सम्मेलनले विगतका आठवटा क्षेत्रीय सम्मेलनका निर्णयको समीक्षा गर्दै कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ। घोषणाभन्दा ठोस निर्णय, जिम्मेवारी र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा आयोजक तथा सरोकारवालाले जोड दिएका छन्।