: बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
क्रसिङका क्रममा फोर्स गाडी तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनास्थलबाट १७ जना घाइतेलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल र नेपालगञ्जर्तफ पठाइएको थियो। जसमध्ये २ जनालाई उपचारका क्रममा मृत घोषणा गरिएको उनले बताए। दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती सोनारी–५, चिल्लरियाका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा सवार चालकका बाबु ५५ वर्षीय दलबहादुर खत्रीलाई बर्दिया जिल्ला अस्पतालमा मृत घोषणा गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए।
दुर्घटनामा परी मिनिफोर्स चालक गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी ४० वर्षीय हरि चौधरीको हातमा चोट, मधुवन नगरपालिका वडा नम्बर ६, सानोश्री बस्ने ४४ वर्षीया रेखा कार्कीको टाउको र ढाडमा सामान्य चोट, वडा नम्बर ९, धर्मबस्ती निवासी २६ वर्षीया ललिता चौधरीको टाउको र दाहिने कोखामा चोट लागेको र अवस्था मध्यम रहेको छ। त्यस्तै, वडा नम्बर ९ की २८ वर्षीया सृजना मगरको दाहिने हात र कुममा सामान्य चोट, वडा नम्बर ७, शुक्रबस्ती निवासी ३३ वर्षीया ऋतु चौधरीको शरीरको दाहिने भागमा सामान्य चोट तथा वडा नम्बर ५ का १८ वर्षीय सुरजकुमार राजीको दाहिने हात र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सोही ठाउँ निवासी १७ वर्षीय संगम वलीको टाउको र दाहिने हातमा चोट लागी अवस्था मध्यम रहेकोले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। बारबर्दिया नगरपालिका वडा नम्बर २, जोगागाउँ बस्ने ७७ वर्षीय प्रसाद थारूको बायाँ हात र दाहिने कुममा चोट लागेको र अवस्था मध्यम छ। गुलरिया नगरपालिका वडा नम्बर १०, कालाबन्जर बस्ने १९ वर्षीया अर्तना पाठकको टाउकोमा सामान्य चोट लागेपछि डिस्चार्ज गरिएको छ भने सोही ठाउँकी १५ वर्षीया अनन्या पाठकको टाउकोमा सामान्य चोट लागे पनि उनी पनि डिस्चार्ज भइसकेकी छन्। यस्तै, गुलरिया नगरपालिका वडा नम्बर १, खैरापुर निवासी १८ वर्षीय यमलाल थारूको दाहिने कोखामा चोट रहेको र अवस्था मध्यम रहेको डीएसपी बोहोराले जनाए।
दुर्घटनाबाट बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ३, किरणनाला निवासी ३४ वर्षीया ईश्वरी न्यौपानेको शरीरको दाहिने भागमा सामान्य चोट लागेको छ। सोही वडा नम्बर ११ निवासी २३ वर्षीया अञ्जली घिमिरेको दाहिने हात र टाउकोमा सामान्य चोट लागेकोले उपचारपश्चात् डिस्चार्ज गरिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२, टरिगाउँ बस्ने २७ वर्षीया लक्ष्मी विकको दाहिने हात र दाहिने खुट्टामा सामान्य चोट लागेकोमा उपचारपश्चात् डिस्चार्ज गरिएको छ भने सोही ठाउँका ४ वर्षीय अनमोल विकको निधारमा सामान्य चोट लागेकोले उपचारपश्चात् डिस्चार्ज गरिएको छ।
दुर्घटनाग्रस्त दुवै सवारीसाधन चल्न नसक्ने अवस्थामा रहेकाले घटनास्थलमै रहेका उनले बताए। अहिले सडक अवरुद्ध नरहेको प्रहरीले जनाएको छ।