: नेपाली कांग्रेस देउवा पक्षका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद र नेतृत्वप्रतिको आलोचनाले कसैको राजनीतिक उचाइ नबढ्ने बताएका छन्।
शनिबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित पार्टीको १५औँ नियमित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले गगन थापाको नाम नलिई कसैको आलोचना गरेर आफ्नो उचाइ बढाउन खोज्नुको अर्थ नरहेको बताए। आलोचनाभन्दा संगठन निर्माण र पार्टीलाई बलियो बनाउने काममा लाग्न उनले आग्रह गरे।
सम्बोधनका क्रममा कोइरालाले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबीसमेत गरे। पार्टीको आधिकारिकता र नेतृत्वको विषयमा देखिएको विवादका बीच उनले आफ्नो समूह नै आधिकारिक कांग्रेस भएको जिकिर गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले आफूहरूकै पक्षमा निर्णय दिने विश्वास व्यक्त गरे। उनले न्यायालयबाट आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै पार्टीभित्रको वर्तमान परिस्थितिबारे आफ्नो धारणा राखेका थिए।