: उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्।
छठ महापर्व, २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यादवले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। छठले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने यादवको भनाइ छ। सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने यादवले उल्लेख गरेका छन्। अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अर्घ्य अर्पण र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने यसको परम्पराले जीवनका हरेक अवस्था, सङ्घर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उनले शुभकामनामा उल्लेख गरेका छन्।
त्यस्तै, उपराष्ट्रपति यादवले छठ पूजा–आराधनाको पर्व मात्र नभई सामाजिक समरसता र सहअस्तित्वको उत्सव भएको बताएका छन्। विभिन्न समुदाय, पेसा र वर्गका मानिसहरूको साझा सहभागिताले छठ पर्वलाई सामाजिक एकता र पारस्परिक सहयोगको जीवन्त पर्वका रूपमा स्थापित गरेको उनको भनाइ छ। ‘नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउँदछ। जल, भूमि, सूर्य र प्रकृतिप्रतिको सम्मानमा आधारित यस पर्वका मूल मान्यताहरू आज विश्वले खोजिरहेको दिगो जीवनशैलीसँग समेत सामञ्जस्यपूर्ण छन्, उपराष्ट्रपति यादवले भनेका छन्।