: म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् ।
शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो ।
आक्रमणमा महिला तथा बालबालिकासहितका सर्वसाधारण मारिएका छन् । उद्धार तथा आपत्कालीन सेवा संस्था ‘फ्युसिन यिन ख्विन फाउन्डेसन’का अध्यक्ष खाइन हेन हतेतले १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घाइते १८ जनाको उपचार भइरहेको छ ।
आक्रमणमा २७ वर्षीया पसल सञ्चालक चित सु वाईले आफ्नी छोरी, काकी र आमालाई गुमाएकी छन् । उनले आक्रमणअघि लडाकु विमान आएको कुनै जानकारी नभएको र अचानक बम खसालिएको बताएकी छन् ।
उक्त शिविरमा म्यानमाको गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू विगत चार वर्षदेखि बस्दै आएका थिए । उनीहरूले शिविरलाई सुरक्षित स्थान ठानेका थिए । तर, आक्रमणपछि बाँसका घरहरू ध्वस्त भएका छन् भने घरायसी सामान र कपडाहरू छरपस्ट भएका छन् ।
आक्रमणमा एकै परिवारका सदस्यसमेत मारिएका छन् । स्थानीय ४५ वर्षीय आउङ क्याव मिनले आफ्नी बहिनी र भाइ गुमाएका छन् । उनले १० वर्षीय बालकसहित केही आफन्त अझै बेपत्ता रहेको बताएका छन् ।
म्यानमामा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि गृहयुद्ध चर्किएको हो । प्रजातन्त्र समर्थक समूह र जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू सेनाविरुद्ध संघर्षरत छन् । राखाइन राज्यमा आराकान आर्मीको प्रभाव रहेको क्षेत्रमा सेनाले नाकाबन्दी र हवाई आक्रमण जारी राखेको छ ।
पछिल्लो घटनाबारे प्रतिक्रिया लिन सेनासँग सम्पर्क हुन नसकेको जनाइएको छ । द्वन्द्व अनुगमन गर्ने संस्था ‘एक्लेड’का अनुसार म्यानमामा गृहयुद्ध सुरु भएयता विभिन्न पक्षबीचको द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।