: अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटो सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा गरेका छन् ।
शनिबार सार्वजनिक गरिएको आफ्नो भनाइमा जेलेन्स्कीले अमेरिकाले पहिलोपटक यस्तो प्रस्ताव उठाएको बताएका हुन् । उनका अनुसार अमेरिकाले युक्रेन नेटोको सदस्य बनेमा डोनबास क्षेत्रबाट सेना फिर्ता गर्न तयार हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको थियो ।
जेलेन्स्कीले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनाको क्षमतामा कुनै प्रतिबन्ध नलगाइने सुनिश्चितता र देशको पुनर्निर्माणका लागि आर्थिक सहयोगसहितको ठोस प्रस्ताव आए त्यसलाई जनमतसङ्ग्रहमा लैजान सकिने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गरेका थिए । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत पछिल्लो कूटनीतिक पहल भइरहेको छ ।
युक्रेनले लामो समयदेखि नेटो सदस्यताका लागि प्रयास गर्दै आएको छ । तर रुसले आफ्नो सीमामा नेटोको थप सदस्य राष्ट्र स्वीकार्य नहुने बताउँदै आएको छ । नेटो सदस्यताकै विषयलाई रुसले युक्रेनमाथि आक्रमण गर्नुको एउटा प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै आएको छ ।
रुसले डोनबास क्षेत्रको अधिकांश भूभाग नियन्त्रणमा लिएको छ । दोनेत्स्क र लुहान्स्क क्षेत्र मिलेर बनेको डोनबासको बाँकी भूभाग पनि छाड्न युक्रेन तयार छैन । जेलेन्स्कीले आफ्नो देशको सार्वभौम भूभाग त्याग्न नसकिने अडान दोहोर्याउँदै आएका छन् ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग रुसी नियन्त्रणमा रहेको छ । रुसले सन् २०१४ मा क्रिमिया पनि कब्जा गरेको थियो ।
यसैबीच, रुसले अन्तिम शान्ति सम्झौता नभएसम्म युद्धविराम गर्न नसकिने अडान राख्दै आएको छ । सम्झौतामा आफूले नियन्त्रणमा नलिएका केही भूभागसमेत युक्रेनले छाड्नुपर्ने उसको माग छ । युक्रेनले भने यस्ता सर्तले भविष्यमा पुनः रुसी आक्रमणको जोखिम बढाउने भन्दै अस्वीकार गर्दै आएको छ ।
बीबीसीका अनुसार अमेरिकाले वास्तवमै नेटो सदस्यताको प्रस्ताव गरेको हो वा वार्ताका क्रममा युक्रेनको अडान बुझ्न मात्र उक्त विषय उठाइएको हो भन्ने स्पष्ट भइसकेको छैन । ह्वाइट हाउसले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।