मुख्य समाचार
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

: नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार नेपाल र दक्षिण कोरियाबिच उत्सर्जन न्यूनीकरणसम्बन्धी परियोजना विकास तथा अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त उत्सर्जन न्यूनीकरण उपलब्धिको हस्तान्तरण गर्न सकिनेछ । यसबाट अन्तरराष्ट्रिय कार्बन वित्त परिचालन हुनुका साथै जलवायु अनुकूलन तथा न्यूनीकरणका क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने विश्वास गरिएको छ ।

सम्झौताले नवीकरणीय ऊर्जा, यातायात, उद्योग, भवन, फोहर व्यवस्थापन, कृषि तथा वन क्षेत्रलाई सहकार्यका प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समेटेको छ । यी क्षेत्रमा जलवायुमैत्री परियोजना विकास, लगानी विस्तार तथा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गरिनेछ ।

त्यसैगरी, कार्बन उत्सर्जनको पारदर्शी लेखाङ्कन, अनुगमन, प्रतिवेदन तथा प्रमाणीकरण प्रणाली (एमआरभी), समायोजन प्रक्रिया र उत्सर्जन न्यूनीकरणको दोहोरो गणना रोक्ने व्यवस्थासमेत सम्झौतामा समावेश गरिएको छ । यसले कार्बन कारोबारमा वातावरणीय अखण्डता कायम राख्न तथा अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेछ ।

कार्बन बजारका अतिरिक्त जलवायु विज्ञान, अनुसन्धान, प्राविधिक नवप्रवर्तन, जलवायु अनुकूलन, मिथेन उत्सर्जन न्यूनीकरण तथा न्यायोचित ऊर्जा रूपान्तरणका क्षेत्रमा पनि दुई देशबीच सहकार्य हुनेछ । यसका लागि सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धानकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रका संस्थाबीच ज्ञान, सीप र प्रविधि आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ ।

नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ३.० कार्यान्वयन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा सन् २०४५ सम्म खुद शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न पनि यो सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

सम्झौताको कार्यान्वयन, संयुक्त कार्ययोजना स्वीकृति तथा सहकार्यका गतिविधिको अनुगमनका लागि दुवै देशका सरकारी प्रतिनिधि सम्मिलित जलवायु परिवर्तन सहकार्यसम्बन्धी संयुक्त समिति गठन गरिनेछ । समितिले आवश्यकताअनुसार कार्बन बजार संयन्त्र तथा जलवायु विज्ञान र प्रविधिसम्बन्धी विशेष उपसमितिसमेत गठन गर्न सक्ने व्यवस्था छ ।

जलवायु परिवर्तनका कारण नेपालले बाढीपहिरो तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमलगायत गम्भीर चुनौती सामना गरिरहेको अवस्थामा यस किसिमको अन्तरराष्ट्रिय साझेदारीले जलवायु वित्त परिचालन, प्रविधि विकास र राष्ट्रिय क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास नेपाल सरकारले व्यक्त गरेको छ ।

सम्झौताबाट प्राप्त अवसरलाई ठोस लगानी, प्रविधि साझेदारी, क्षमता विकास तथा मापनयोग्य जलवायु उपलब्धिमा रूपान्तरण गर्ने नेपालको अपेक्षा छ ।

यसअघि नेपालले गत वर्ष जे–रेड प्लस कार्यक्रमअन्तर्गत लिफ कोलिसनसँग उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता (इआरपीए) मा हस्ताक्षर गरेको थियो । उक्त कार्यक्रममा दक्षिण कोरिया सरकारसमेत साझेदारका रूपमा सहभागी छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट सहसचिव तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका सम्पर्क व्यक्ति डा महेश्वर ढकाल र दक्षिण कोरिया सरकारका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी राजदूत तथा विदेश मन्त्रालयका उपमन्त्री जोङ्हो क्युनले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले दक्षिण कोरिया सरकारप्रति साझेदारी र प्रतिबद्धताका लागि आभार व्यक्त गर्दै यस सम्झौताले दुवै देशबीच प्रभावकारी, पारदर्शी तथा पारस्परिक लाभमा आधारित जलवायु सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटा नगरपालिका-५ निवासी अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन् । शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे । उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको ...
: नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतीय रेल मन्त्रालयले दुई देशबीचको सीमापार सम्पर्क सञ्जाल, धार्मिक पर्यटन र द्विपक्षीय मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ। रामायणकालीन परम्परा र ऐतिहासिक आस्थासँग ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् । अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जेरेड कुशनरसँगको वार्तापछि क्रेमलिनले दीर्घकालीन शान्ति र अविभाज्य सुरक्षा संरचना आवश्यक रहेको जनाएको छ । रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्न रोक्नुपर्ने तथा पूर्वी र मध्य युरोपमा नेटोको सैन्य संरचना घटाउनुपर्ने पुरानै ...
: तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य दिई मुख्य पूजा गरिदैछ । गएराति 'खरना' विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार ...