: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।
क्रेस यसअघि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिइन्। कम्पनीको सञ्चालक समितिले उनको अनुभव र नेतृत्व क्षमताका आधारमा अन्तरिम जिम्मेवारी दिएको जनाएको छ।
सञ्चालक समितिका सदस्य हार्वे जोन्सले क्रेसले एनभिडियाको असाधारण व्यावसायिक विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले कम्पनीको व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे क्रेसको गहिरो बुझाइ रहेको उल्लेख गरेका छन्।
यसैबीच, हार्वे जोन्सलाई एनभिडियाको इतिहासमै पहिलोपटक सञ्चालक समितिको अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले हुआङको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद दिएको छ। एनभिडियाको विकास र विश्व प्रविधि उद्योगमा उनको भूमिका अतुलनीय रहेको सञ्चालक समितिको भनाइ छ।
अन्तरिम सीईओको जिम्मेवारी सम्हालेपछि क्रेसले एनभिडियालाई द्रुत कम्प्युटिङ र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको अग्रणी कम्पनी बनाउने कामलाई निरन्तरता दिने बताएकी छन्। उनले ग्राहक, साझेदार, विकासकर्ता तथा सेयरधनीको आवश्यकता पूरा गर्नु आफ्नो प्राथमिकता हुने पनि उल्लेख गरेकी छन्।
यसअघि द न्युयोर्क टाइम्स को एक रिपोर्टमा हुआङको व्यक्तिगत सम्बन्धलाई लिएर विभिन्न समाचार सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको दाबी गरिएको थियो। बीबीसीका अनुसार, उक्त अवधिमा एनभिडियाको बजार पुँजीकरणमा पाँच खर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको थियो।