: इरानले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने जनाएको छ ।
इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सातबुँदे प्रस्तावमार्फत युद्ध अन्त्यका लागि इरानले आफ्ना सर्तहरू अमेरिकासमक्ष पठाइसकेको बताएका छन् ।
अलजजिरासँगको अन्तर्वार्तामा उनले हर्मुज जलमार्गको निगरानीका लागि इरान र ओमानबीच सहमति भएको जानकारी दिए । उनका अनुसार उक्त जलमार्गमा स्वतन्त्र जलक्षेत्र नरहेको र यसको नियमन तटीय राष्ट्रहरूको कानुनअनुसार हुनुपर्नेछ ।
कतारको मध्यस्थतामार्फत अमेरिकालाई सातवटा सर्तसहितको जवाफ पठाइएको उल्लेख गर्दै उनले अब निर्णय गर्ने जिम्मेवारी वासिङ्टनको भएको बताए ।
इरानका प्रमुख सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम हुनुपर्ने र युद्ध अन्त्यको स्पष्ट घोषणा गर्नुपर्ने रहेका छन् ।
गालिबाफले यी मागहरू वार्ताअघि नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले मस्को भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ताका लागि मध्यस्थता गरिदिन आग्रह गरेको दाबीसमेत गरेका छन् ।