: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२औं खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदा पोखरा एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिएको हो।
६ खेलमा ५ हारसहित पोखरा बाहिरिँदा समान ६ खेल खेलेको विराटनगर किंग्सको भने यो तेस्रो जित हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो।
पोखराले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १३६ रनसहित लक्ष्य पूरा गरेको हो।
विराटनगर किंग्सका लागि ओपनर ब्याटर वसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा समान २ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले ३३ नर बनाए। अर्का ओपनर इम्रान शेखले १० रनमात्रै बनाए। चारिथ आशलंका डकआउट हुँदा एन्जेलो म्याथ्यूस ८ रनमा क्याच भए।
सेहान जयसुरिया १७ र इसुरु उडाना २५ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि बलिङतर्फ, रमेश मेन्डिस र कुशल भुर्तेलले समान २-२ विकेट लिँदा विपिन खत्री र धनन्जय लक्सले १-१ विकेट लिए।
त्यसअघि पहिलो इनिङ्समा पोखराको ब्याटिङ सन्दीपको घातक बलिङमा धरापमा पर्यो। सन्दीपको किफायती बलिङले पोखरा १३२ मा समेटिएको थियो।
पोखराका लागि ओपनर युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। उनले छैटौं विकेटका लागि धनन्जय लक्सनसँग ४६ रनको साझेदारी बनाए। जसले पोखराको योगफल बढाउने काम गर्यो।
शीर्ष क्रमका अन्य ३ ब्याटर दोहोरो अंक नबनाई पेभेलियन फर्किए। एकतर्फबाट सम्राले क्रिज सम्हालेपनि उनलाई अर्को एन्डबाट साथ दिने ब्याटर भएनन्। जसमा सन्दीपको बलिङको भूमिकाा महत्वपूर्ण रह्यो। सन्नी विकले १२ रन र धनन्जय लक्सनले २२ रन बनाए। रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्ना डक आउट भए।
पहिलो इनिङ्समा सन्दीपको ह्याट्रिकसहित ६ विकेट
विराटनगर किंग्सले यसअघि, खेलेको ५ खेलमा कप्तान सन्दीप लामीछानेको पोल्टामा विकेटको खडेरी रहेको थियो।
लिग चरणको विराटनगरको लागि दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध १ विकेट लिएका सन्दीपले अन्य ४ खेलमा भने विकेटविहिन रहेका थिए। लगातारको ३ खेलमा विकेटविहीन बनेका सन्दीपले निकै राम्रो कमब्याक गर्दै आजको खेलमा ४ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए।
त्रिवि क्रिकेट मैदानमा आज सन्दीप पोखराविरुद्धको खेलमा चम्किएका हुन्। उनले १४.३, १४.४, १४.५ मा लगातार पोखराका ३ ब्याटरलाई पेभेलियन फर्काए।
उनले १४.३ ओभरमा युवराज सम्रालाई क्याच गराउँदा १४.४ मा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू र १४.५ मा किरण ठगुन्नालाई पनि एलबीडब्ल्यू धरापमा पार्दैै सन्दीपले ह्याट्रिक पूरा गरेका हुन्।
तेस्रो संस्करणको एनपीएलमा ह्याट्रिक पूरा गर्ने सन्दीप पहिलो खेलाडी हुन्। त्यस्तै, एकै इनिङ्समा ६ विकेट लिने तेस्रो संस्करणका पहिलो खेलाडी हुन् भने समग्र एनपीएलमा उनी तेस्रो खेलाडी हुन्। पहिलो संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले पहिलो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिएका थिए। दोस्रो संस्करणमा काठमाडौं गोर्खाजका साहब आलमले कर्णाली याक्ससँग ६ विकेट लिएका थिए।