मुख्य समाचार
नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन
नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

। जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई उनीहरूले मुख्य प्राथमिकतामा राखेका छन्।

टर्किएको अन्ताल्यामा जारी सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर चुनौती बनिसकेको भन्दै प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गरे।
नेपालको बाढीदेखि प्रशान्त क्षेत्रको सङ्कटसम्म

कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले जलवायु परिवर्तन अब ऊर्जा, उद्योग, कृषि र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए।


सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘नेपालमा आएको विनाशकारी बाढीपहिरो, पाकिस्तानको बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा बढ्दो समुद्री सतहले जलवायु सङ्कट कति गम्भीर छ भन्ने स्पष्ट देखाएको छ।’

उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्न, जलवायु वित्तमा विकासशील देशको पहुँच सुनिश्चित गर्न र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्न जोड दिए।

साथै, टर्किएले सन् २०३५ सम्म आफ्नो कुल ऊर्जा खपतमा विद्युत्‌को हिस्सा ३५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले जानकारी दिए।

‘स्वच्छ ऊर्जामा लगानी बढ्यो, पहुँच अझै सहज छैन’

राष्ट्रसंघीय कार्यकारी सचिव साइमन स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोड्नुपर्ने बताए। अन्तर्राष्ट्रिय सहकार्यकै कारण विश्व तापक्रम वृद्धिको प्रक्षेपण ४ डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

राष्ट्रिय जलवायु लक्ष्य (एनडीसी) कार्यान्वयन, अर्थतन्त्रको विद्युतीकरण र जोखिममा रहेका राष्ट्रहरूको जलवायु वित्तमा पहुँच सहज बनाउनु कोप–३१ को मुख्य एजेन्डा हुनुपर्ने उनको भनाइ थियो।

यसैगरी, कोप–३१ का वार्ता अध्यक्ष क्रिस बोवेनले विश्वले एकैसाथ ऊर्जा सुरक्षा सङ्कट, युद्ध र जलवायु सङ्कटको सामना गरिरहेको बताए। तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उनले औँल्याए।

गत वर्ष स्वच्छ ऊर्जामा २.२ ट्रिलियन अमेरिकी डलर लगानी भएको (जुन जीवाश्म इन्धनमा भएको लगानीको दोब्बर हो) जानकारी दिँदै बोवेनले भने, ‘स्वच्छ ऊर्जाको विस्तारलाई थप तीव्रता दिनुपर्छ। जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रहरूको अनुकूलनका लागि लगानी बढाउनुपर्छ।’

तीनैजना उच्च अधिकारीहरूले जलवायु सङ्कटको सामना गर्न बहुपक्षीय सहकार्य, वित्तीय सहयोग र व्यावहारिक कार्यान्वयनमा जोड दिँदै यस सम्मेलनबाट ठोस उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको सेवाअन्तर्गत काठमाडौंको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्तर्गत नेपाल पेभिलियनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय सहायता आवश्यक रहेको बताएका हुन् । उनले विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि ...
। सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसँगै साइकल ठोक्किएका थिए । दुर्घटनामा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल ...
: जलवायु संकट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् । राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री ...