: इरानले आफ्नो सम्वर्धित युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने चेतावनी अमेरिकालाई दिएको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले आफ्नो देशले सम्वर्धित युरेनियम देशभित्रै राख्ने र त्यसको प्रयोग गर्ने बताएका छन्।
लेबनानको अल-मयादिन टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा रेजाईले यसबारे रुसलाई समेत जानकारी गराइसकेको बताए। इरानले आफ्नो संवर्धित युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारिसकेको उनको भनाइ छ।
उनका अनुसार इरानलाई आणविक ऊर्जाबाट चल्ने जहाज तथा पनडुब्बी निर्माण गर्न संवर्धित युरेनियम आवश्यक छ।
यसअघि रुसले अमेरिकासँग सम्भावित आणविक सम्झौताको एउटा विकल्पका रूपमा इरानको संवर्धित युरेनियम आफ्नो देशमा भण्डारण गर्ने प्रस्ताव गरेको थियो। यस विषयमा अन्तिम निर्णय गर्ने अधिकार भने रुसले इरानलाई नै छाडेको थियो।
रेजाईको पछिल्लो अभिव्यक्ति यस्तो समयमा आएको हो, जतिबेला युद्ध अन्त्य गर्ने प्रयास भइरहेका छन्। इरानको आणविक कार्यक्रम तेहरान र वासिङ्टनबीचको विवादको प्रमुख विषयका रूपमा रहँदै आएको छ।
आणविक कार्यक्रमलाई लिएर दुई देशबीच सहमति जुटाउने प्रयास भइरहेका बेला इरानले आफ्नो सम्वर्धित युरेनियम देशभित्रै राख्ने अडान दोहोर्याएको हो।