मुख्य समाचार
रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न
रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न

: रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति जुट्न सकेन ।

युक्रेनी वार्ता टोलीका सदस्य डाभिड अराखामियाले यस चरणको वार्ता निकै कठिन रहेको बताए । रुसले कडा सर्तसहित छलफलमा सहभागी भएकाले सहमति जुटाउन कठिन भएको उनको भनाइ थियो । यद्यपि उनले वार्तामा सकारात्मक गति देखिएको भन्दै दोस्रो चरणको वार्ता चाँडै आयोजना गर्न आग्रह गरे ।

यसैबीच, रुस र युक्रेन दुवै पक्षले ठूलो सङ्ख्यामा युद्धबन्दी साटासाट गर्ने तयारी भइरहेको पुष्टि गरेका छन् । उक्त प्रक्रिया छिट्टै अघि बढ्न सक्ने जनाइएको छ ।

वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनर बिहीबार मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि उनीहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्न डब्लिन जाने बताइएको छ ।

वार्ताको मुख्य विषय युरोपको भावी सुरक्षा संरचना रहेको थियो । युक्रेनले आफू नेटोको सदस्य नभए पनि भविष्यमा रुसबाट आक्रमण भए सहयोगी राष्ट्रहरूले सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गर्दै आएको छ । यता रुसले पूर्वी युरोपमा नेटोको प्रभाव सीमित हुनुपर्ने अडान राख्दै आएको छ ।

युद्धविराम पहिले गर्ने कि शान्ति सम्झौता भएपछि मात्रै युद्ध रोक्ने भन्ने विषयमा पनि पक्षहरूबीच मतभेद छ । युक्रेन र युरोपेली राष्ट्रहरूले पहिले युद्धविराम हुनुपर्ने पक्षमा जोड दिएका छन् भने रुसले समग्र सम्झौता भएपछि मात्रै युद्ध रोक्नुपर्ने अडान राखेको छ ।

युक्रेनको पूर्वी क्षेत्र दोनेत्स्क पनि वार्ताको सबैभन्दा जटिल विषय बनेको छ । उक्त क्षेत्रको अधिकांश भूभाग रुसको नियन्त्रणमा छ । रुसले युक्रेनको नियन्त्रणमा रहेका बाँकी क्षेत्रसमेत छाड्नुपर्ने माग गर्दै आएको छ भने युक्रेनले हालको युद्धमोर्चाको अवस्थालाई यथावत् राख्नुपर्ने बताउँदै आएको छ ।

अमेरिकी वार्ताकार कुशनरले दुवै पक्षबीच विश्वासको गम्भीर अभाव रहेको स्वीकार गर्दै प्रस्तावित सम्झौता निकै जटिल र संवेदनशील रहेको बताएका छन् ।

वार्तामा बेलायत, नेटो र युरोपेली सङ्घका विभिन्न देशका प्रतिनिधिहरू पनि सहभागी थिए । तर, युरोपेली प्रतिनिधिहरूसँग रुसी टोलीले प्रत्यक्ष छलफल नगरेको क्रेमलिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानले आफ्नो सम्वर्धित युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने चेतावनी अमेरिकालाई दिएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले आफ्नो देशले सम्वर्धित युरेनियम देशभित्रै राख्ने र त्यसको प्रयोग गर्ने बताएका छन्। लेबनानको अल-मयादिन टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा रेजाईले यसबारे रुसलाई समेत जानकारी गराइसकेको बताए। इरानले आफ्नो संवर्धित युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारिसकेको उनको भनाइ ...
। स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा जारी कोप३१ सम्मेलनमा मङ्गलबार पुगेपछि थनबर्गले यस्तो टिप्पणी गरेकी हुन्। ‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो। हामीलाई थाहा छ ...
: जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ ...
: इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ । देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन । राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र ...
: बढ्दो घरभाडा र महँगीविरुद्ध स्पेनमा भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । १४ वर्षपछि भएको पहिलो देशव्यापी आमहडतालमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । बार्सिलोनामा केही नकाबधारी समूहले सडकका फोहोर सङ्कलन गर्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए ...