: बढ्दो घरभाडा र महँगीविरुद्ध स्पेनमा भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
१४ वर्षपछि भएको पहिलो देशव्यापी आमहडतालमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् ।
बार्सिलोनामा केही नकाबधारी समूहले सडकका फोहोर सङ्कलन गर्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीतर्फ पटाका प्रहार गरेको र लेगो स्टोरलगायत पसलहरूमा लुटपाट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आमहडतालका कारण देशभर यातायात तथा सार्वजनिक सेवा प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा यातायात अवरुद्ध भएको थियो । घटनाका क्रममा विभिन्न गतिविधिमा संलग्न दर्जनौँ व्यक्ति पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।
आवासको चर्को मूल्य र बढ्दो जीवनयापन खर्चविरुद्ध श्रमिक सङ्गठनहरूले आमहडताल आह्वान गरेका हुन् । म्याड्रिडमा ७० वर्षदेखि बस्दै आएकी ८७ वर्षीया मारिकार्मेन अबास्काललाई घरबाट निकालिएको घटनाले आन्दोलनलाई थप चर्काएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो ।
म्याड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा एक हजार १७० युरो पुगेको छ । स्पेनको औसत मासिक कुल तलब भने दुई हजार ४६० युरो रहेको छ ।
आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुन लागेका बेला भएको आमहडताललाई लिएर सत्तापक्ष र विपक्षीबीच आरोप–प्रत्यारोपसमेत चलेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले श्रमिकको हडताल गर्ने अधिकारको समर्थन गरेका छन् भने विपक्षी पिपुल्स पार्टीले सरकारले आन्दोलनलाई राजनीतिक लाभका लागि प्रयोग गरेको आरोप लगाएको छ ।