मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् ।

पछिल्ला केही दिनमा निर्वाचन अभियानका क्रममा एकअर्कामाथि तीव्र व्यक्तिगत आरोप लगाएका नेतन्याहूले राष्ट्रिय एकता र विपक्षी दलसँग मिलेर सरकार गठन गर्नुपर्ने विषय उठाउन थालेका छन् ।

शनिबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख गादी आइजेनकोटलाई संसद्मा बहुमत जुटाउनसक्ने सरकार गठनको जिम्मेवारी दिएका थिए ।

सोही दिन नेतन्याहूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अरब दलहरूको समर्थनमा सरकार बने इजरायलमा गृहयुद्धको वास्तविक खतरा उत्पन्न हुनसक्ने दाबी गरे । उनले अरब दलहरूमाथि इजरायल राज्यलाई समाप्त पार्न चाहेको आरोपसमेत लगाए ।


दुई दिनपछि अर्को भिडियो सार्वजनिक गर्दै नेतन्याहूले विपक्षी गठबन्धनका नेताहरूलाई वर्तमान परिस्थितिको आवश्यकता बुझ्न आग्रह गरे । उनले अति दक्षिणपन्थी दलका नेता बेजालेल स्मोट्रिच र इतामार बेन गभिर तथा अति रूढिवादी यहुदी दलहरूलाई समेत समेटेर आफ्नै नेतृत्वमा एकीकृत सरकार बनाउन प्रस्ताव गरे ।

इजरायलका पूर्वसरकारी सल्लाहकार ड्यानियल लेभीले सरकार गठनअघिका वार्ताहरूलाई राजनीतिक रणनीति, दबाब र मनोवैज्ञानिक खेलको संज्ञा दिएका छन् ।



मंगलबार नयाँ संसद् (नेसेट) का सदस्यहरूले शपथ लिने तयारी भइरहेका बेला सरकार गठनमा अति रूढिवादी यहुदी दलहरूको भूमिकालाई लिएर चर्चा तीव्र भएको छ ।
ती दलहरूले विगतमा आफ्ना धार्मिक विद्यालयमा अध्ययनरत युवाहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिलाउने सर्तमा नेतन्याहूको गठबन्धनलाई समर्थन गर्दै आएका थिए ।

तर, सन् २०२४ जुनमा इजरायलको सर्वोच्च अदालतले अति रूढिवादी यहुदी पुरुषलाई पनि अनिवार्य सैन्य सेवामा सहभागी गराउनुपर्ने आदेश दिएको थियो ।

निर्णायक अति रूढिवादी दल

नेतन्याहूलाई राष्ट्रपति हर्जोगले सरकार गठनको जिम्मेवारी दिन अस्वीकार गरेको संयुक्त तोराह यहुदी धर्म पार्टी (यूटीजे) ले आइजेनकोटलाई समर्थन गर्न सक्ने संकेत देखिएको छ ।

विपक्षी गठबन्धनका प्रमुख नेता अविग्दोर लिबरम्यानले अरब दलसँग सहकार्य गर्नुभन्दा नेतन्याहूलाई पुनः सत्तामा आउन दिनु वा अर्को निर्वाचनमा जानुपर्ने अवस्था स्वीकार्नुपर्ने दबाबको सामना गरिरहेको बताइएको छ ।

नेतन्याहूका पूर्वसहयोगी तथा इजरायली राजनीतिक सर्वेक्षक मिचेल बराकका अनुसार आइजेनकोटले यूटीजेको समर्थन पाए १२० सदस्यीय संसद्मा ६७ सिट पुग्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत ६१ सिट हो ।



उनले नेतन्याहू कमजोर अवस्थामा रहेकाले आफ्नो गठबन्धन बलियो बनाउन हरसम्भव प्रयास गरिरहेको बताए ।

नेतन्याहूका लागि यो सत्ता संघर्ष राजनीतिक भविष्यसँगै व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएको छ । उनीमाथि लागेका विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् ।

आफू निर्दोष रहेको दाबी गर्दै उनले पूर्वराजनीतिक प्रतिस्पर्धीसमेत रहेका राष्ट्रपति हर्जोगसँग यसअघि नै माफीका लागि अनुरोध गरिसकेका छन् ।

त्यसबाहेक सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि सुरक्षा निकायले दिएका चेतावनीलाई बेवास्ता गरेको र आक्रमण रोक्न असफल भएको आरोप पनि नेतन्याहूमाथि लाग्दै आएको छ । आक्रमणपछि गाजामा इजरायलले गरेको सैन्य कारबाही र त्यसबाट उत्पन्न मानवीय संकटलाई लिएर पनि उनको सरकार आलोचनामा छ ।

नयाँ संसद्ले बढाउनसक्छ राजनीतिक तनाव

मंगलबार शपथ लिने नयाँ संसद्का धेरै सदस्यहरू सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र त्यसपछि भएका युद्धसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । उनीहरूमध्ये आक्रमणमा परिवारका सदस्य गुमाएका व्यक्ति, सैन्य सेवामा सहभागी भएका सैनिक तथा बन्धक बनाइएका करिब २५० इजरायलीको रिहाइका लागि अभियान चलाउँदै आएका व्यक्तिहरू पनि छन् ।

आइजेनकोट आफैँले पनि त्यसपछिको युद्धमा एक छोरा र दुई भतिजा गुमाएका थिए ।

त्यसैले नयाँ संसद्मा अक्टोबर ७ को आक्रमण रोक्न सरकार किन असफल भयो र त्यसको जिम्मेवारी कसले लिनुपर्छ भन्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
विशेषगरी नेतन्याहूको भूमिकामाथि प्रश्न उठ्ने देखिएको छ । आक्रमणअघि सुरक्षा चेतावनी बेवास्ता गरेको, युद्ध लम्ब्याएको र बन्धकहरूको सुरक्षाभन्दा आफ्नो राजनीतिक स्वार्थलाई प्राथमिकता दिएको आरोप उनीमाथि लाग्दै आएको छ ।

विपक्षी गठबन्धनले संसद्को पहिलो दिनमै आइजेनकोटको याशार पार्टीका नेता मटान काहानालाई महत्त्वपूर्ण जिम्मेवारीमा ल्याउने तयारी गरेको छ । काहाना नेतन्याहू नेतृत्वको सरकारको कमजोरीबारे छानबिन गर्न स्वतन्त्र राष्ट्रिय आयोग गठन गर्नुपर्ने पक्षमा छन् ।

इजरायली राजनीतिक विश्लेषक निमरोड फ्लास्चेनबर्गका अनुसार अक्टोबर ७ को घटनासँग प्रत्यक्ष जोडिएका धेरै व्यक्ति संसद्मा प्रवेश गर्दा राजनीतिक तनाव थप बढ्नेछ ।

उनका अनुसार नेतन्याहूले यो परिस्थितिलाई प्रभावित पार्ने प्रयास गर्न सक्ने भए पनि लामो समयपछि पहिलोपटक उनी केही अन्योलमा देखिएका छन् ।

नेतन्याहूको भविष्य विपक्षी गठबन्धनको हातमा

नेतन्याहूले गृहयुद्धको खतरा र क्षेत्रीय शत्रुबाट इजरायलमाथि हुनसक्ने जोखिमबारे चेतावनी दिएपनि उनको राजनीतिक भविष्य अब विपक्षी गठबन्धनको निर्णयमा निर्भर देखिएको छ ।

पूर्वसरकारी सल्लाहकार लेभीका अनुसार विपक्षी दलहरू नेतन्याहूसँग मिलेर राष्ट्रिय एकताको सरकार बनाउने पक्षमा छैनन् ।

उनले नेतन्याहू नेतृत्वमा पुनः राष्ट्रिय एकताको सरकार बन्ने सम्भावना भए त्यो कुनै ठूलो सुरक्षा संकट सिर्जना भएको अवस्थामा मात्र सम्भव हुन सक्ने बताए ।

यसैबीच, बेलायती सञ्चारमाध्यमले नेतन्याहूले इरानविरुद्ध पुनः युद्ध सुरु गर्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग दैनिक फोनवार्ता गरिरहेको समाचार सार्वजनिक गरेका छन् ।

नेतन्याहूले सुरक्षा संकटलाई आफ्नो राजनीतिक पक्षमा प्रयोग गर्नसक्ने आशंकासमेत व्यक्त गरिएको छ ।

–अलजजीराबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ ...
: इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ । देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन । राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र ...
: बढ्दो घरभाडा र महँगीविरुद्ध स्पेनमा भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । १४ वर्षपछि भएको पहिलो देशव्यापी आमहडतालमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । बार्सिलोनामा केही नकाबधारी समूहले सडकका फोहोर सङ्कलन गर्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए ...
: इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनका क्रममा उनले पेस गरेको माध्यमिक तहको शैक्षिक कागजात अमान्य भएको फैसला सुनाएपछि गिब्रान नैतिक तथा संवैधानिक दबाबमा परेका थिए । उनका सहयोगी बुदी आरिएका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोसमक्ष सीधा राजीनामा पत्र बुझाएका ...
अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही गरेको आरोप लगाउँदै हेगसेथलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । मंगलबार अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान भएको थियो ...