— बाँसगढी नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई भारतीयसहित चार जना घाइते भएका छन् ।
बाँसगढी–५ मोतिपुर जंगलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–१२ का २५ वर्षीय ओमकार थारुको मंगलबार साँझ मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका–३ का २५ वर्षीय आशिष थारुले चलाएको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल बाँसगढीबाट मैनापोखरतर्फ र भारत लौकाहीका १८ वर्षीय सहाबुदिन खानले चलाएको भे ५ प ९१६१ नम्बरको मोटरसाइकल मैनापोखरदेखि बाँसगढीतर्फ जाँदै गरेको अवस्थामा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आशिषले चलाएको मोटरसाइकलमा ओमकार थारु र बारबर्दिया नगरपालिका–७ का १८ वर्षीय रमन थारु सवार थिए भने खानले चलाएको मोटरसाइकलमा भारत लौकाहीका २० वर्षीय जमाल खान सवार थिए ।
रमन थारुको कौसिल्या अस्पताल बाँसगढीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस्तै आशिष थारुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र घाइते दुवै जना भारतीय नागरिकलाई थप उपचारको लागि भारततर्फ लगिएको डिएसपी रेशम बोहराले जानकारी दिए ।