— मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाद्यान्न आयातमा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा यो नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्ट तथा अन्य खाद्यान्नको परिमाण घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा गहुँ आयात नभएकोमा यस वर्ष भने उल्लेख्य परिमाणमा गहुँ भित्रिएको छ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आवको पहिलो त्रैमासिकमा चामल, मकै, गहुँ, माल्ट, धान तथा फापर, कोदो र अन्य खाद्यान्न गरी ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।
भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ९४ लाख १ हजार किलो चामल आयात भएको थियो। अघिल्लो वर्ष ८९ करोड ८१ लाख रुपैयाँ बराबरको चामल आयात भएकोमा यस वर्ष ७० करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ।
त्यस्तै, पशुपन्छीको दाना तथा खाद्य उद्योगमा प्रयोग हुने मकैको आयातमा पनि ठूलो कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलोमा सीमित भएको छ। अघिल्लो वर्ष १ अर्ब ८० करोड १३ लाख रुपैयाँ बराबरको मकै आयात भएकोमा यस वर्ष ६० करोड ९८ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ।
धानको आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा ३ करोड ९१ लाख किलो धान आयात भएकोमा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्र आयात भएको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बराबरको धान आयात भएकोमा यस वर्ष ३३ करोड ३५ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासिकमा २५ लाख ९० हजार किलो माल्ट आयात भएकोमा चालु आवमा भने यसको आयात शून्य छ। अघिल्लो वर्ष १७ करोड १० लाख रुपैयाँ बराबरको माल्ट आयात भएको थियो। यसैगरी फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि घटेको छ। अघिल्लो वर्ष २३ लाख ४१ हजार ६५५ किलो आयात भएकोमा चालु आवमा १६ लाख ४० हजार ५५५ किलो मात्र आयात भएको छ।
यसबीच अघिल्लो आवको पहिलो तीन महिनामा गहुँ आयात नभएकोमा चालु आवमा भने ९५ लाख ५४ हजार किलो गहुँ आयात भएको छ। यसको आयात मूल्य ५० करोड १५ लाख रुपैयाँ रहेको भन्सारको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष शून्य आयात रहेको गहुँ यस वर्ष खाद्यान्न आयातको सूचीमा थपिएको छ।