— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह ३१औं भारतीय उद्योग परिसंघ (सीआईआई) साझेदारी सम्मेलनमा सहभागी हुन बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । सम्मेलन कात्तिक २६ र २७ मा आन्ध्र प्रदेशको विशाखापट्टनममा हुँदै छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साहलाई स्वागत गरेका थिए ।
नेपाली दूतावासको भ्रमणका क्रममा मन्त्री साहले दूतावासका अधिकारीहरूसँग छलफल गरेका थिए । उनले नेपालको निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षित गर्न र पर्यटन विस्तार गर्न आर्थिक कूटनीति सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनमा मन्त्री साहले व्यापारमन्त्रीहरूको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सरकारका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवालाहरू सहभागी हुँदै छन् । उनीहरूले व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक साझेदारीका विषयमा छलफल गर्नेछन् ।
सम्मेलनका क्रममा मन्त्री साहले भारतका विशिष्ट व्यक्तित्व तथा सहभागी मुलुकका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । ती भेटवार्तामा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल हुने जनाइएको छ ।
नेपालले निर्यात बजार विविधीकरण, प्रत्यक्ष वैदेशिक लगानी वृद्धि र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला मन्त्री साहको भारत भ्रमण भएको हो ।
ads/1440x233asmis26-bluekv-2-15102026114551.jpg
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । त्यसैले व्यापार सहजीकरण, कनेक्टिभिटी, लगानी र पर्यटन द्विपक्षीय आर्थिक सहकार्यका महत्त्वपूर्ण क्षेत्र रहँदै आएका छन् ।
मन्त्री साह शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।