: मोरङको जहदा गाउँपालिकामा वैवाहिक सम्बन्ध बाहिरको प्रेम सम्बन्धले गम्भीर रूप लिँदा एक पुरुषको हत्या भएको छ। श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उत्पन्न विवादका कारण श्रीमतीले आफ्नै भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या आरोपमा प्रहरीले उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्रलाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार आइतबार राति करिब ९ बजेतिर बुधरामको टाउकोमा फलामको रड प्रहार गरिएको थियो। रड प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कमली र सुनीलबीच प्रेम सम्बन्ध थियो। श्रीमतीको भारतीय नागरिकसँगको सम्बन्धका बारेमा बुधरामले जानकारी पाएपछि उनीहरू बीचको विवाद हत्यासम्म पुगेको प्रहरीको निष्कर्ष छ। प्रेम सम्बन्धलाई निरन्तरता दिन र त्यसबाट उत्पन्न समस्या पन्छाउन दुवै जनाले मिलेर बुधरामको हत्या गरेको एसपी कटवालले बताए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको हो। घटनाको सूचना पाएपछि प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै पक्राउ गरेको थियो। घटनापछि भागेकी कमलीलाई भने प्रहरीले सोमबार बिहान करिब साढे ७ बजेतिर घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले हत्यामा प्रयोग गरिएको फलामको रडसमेत बरामद गरेको छ। घटनाको प्रकृति, त्यसअघिको विवाद र हत्यामा दुवै जनाको भूमिकाका बारेमा थप अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिए। ‘विवाहेत्तर प्रेम सम्बन्ध लुकाउनलाई प्रेमीसँग मिलेर योजना बनाउँदै श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप कुरा विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने छ,’ उनले भने।
मृतक सोरेनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ। पक्राउ परेका कमली र सुनीलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।