: नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे।
त्यस्तै उनले कार्यकारी र सरोकारवालाबीच नियमित संवाद नहुँदा विचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको बताए। उनले दान बहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा समेत सरकारले प्रष्ट पार्नुपर्ने बताए।
प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आचार्यको भनाइ छ। सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको टिप्पणी गर्दै आचार्यले विधायिकाको भूमिकालाई कमजोर बनाउन नहुने धारणा राखे।