: बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक बनेका छन्।
सोमबार लन्डनमा आयोजित एक विशेष समारोहमा उनलाई ५० हजार पाउन्डको पुरस्कार राशि प्रदान गरिएको छ। विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै आएका ह्यारिसनको पुरस्कृत उपन्यास विनाशपछिको संसार (पोस्ट-अपोकल्पिप्टिक) मा आधारित छ। रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको परिवेशलाई उपन्यासमा समेटिएको छ।
ह्यारिसनका अनुसार सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट प्रभावित भएर उनले उपन्यासको कथा तयार पारेका थिए। १९८ पृष्ठको यो पुस्तक यस वर्ष सर्टलिस्टमा परेका पुस्तकहरूमध्ये सबैभन्दा पातलो थियो। निर्णायक समितिले १६३ पुस्तकबाट छनोट गरिएका अन्तिम छ प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत रूपमा विजेता घोषणा गरेको हो।
यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन्। समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए।
बुकर पुरस्कारको निर्णायक समितिकी अध्यक्ष डेम मेरी बियर्डले ह्यारिसनको उपन्यासको प्रशंसा गर्दै पढ्नमा केही चुनौतीपूर्ण भए पनि यो उत्कृष्ट साहित्यको एक अनुपम नमुना भएको बताएकी छिन्। विनाशकारी परिस्थिति आइपर्दा त्यसलाई बुझ्न कठिन हुने र पुराना सामाजिक नियमहरू अर्थहीन बन्न सक्ने वास्तविकतालाई उपन्यासले सटीक रूपमा उतारेको उनको भनाइ थियो।
पुरस्कार ग्रहण गर्दै लेखक ह्यारिसनले आफूले बुकर पुरस्कार जित्ने अपेक्षा नगरेको बताए। उनले भने, 'मानिसहरू सजिलैसँग आफ्नो जीवन परिवर्तन भएको कुरा गर्छन्, तर जब यो वास्तविक रूपमै हुन्छ, तब अजीव महसुस हुने रहेछ। मलाई बल्ल एउटा असली लेखक जस्तो महसुस भइरहेको छ, यद्यपि ममा आत्मविश्वासको भने अझै अभाव छ।'
करिब ६ दशकदेखि साहित्य लेखनमा सक्रिय ह्यारिसनका १३ वटा उपन्यास प्रकाशित छन्। यसअघि सन् २००७ मा उनको उपन्यास ‘नोभा स्विङ’ले प्रतिष्ठित 'आर्थर सी क्लार्क' पुरस्कार जितेको थियो।
यसअघि सन् २०१९ मा ७९ वर्षको उमेरमा मार्गरेट एटवुडले बुकर पुरस्कार जितेर सबैभन्दा पाको विजेताको कीर्तिमान बनाएकी थिइन्। ह्यारिसनले उक्त कीर्तिमान तोड्दै बुकर पुरस्कारको इतिहासमै सबैभन्दा पाका विजेता बन्ने स्थान हासिल गरेका छन्।
के हो बुकर पुरस्कार?
सन् १९६९ देखि प्रदान गर्न थालिएको बुकर पुरस्कार अङ्ग्रेजी भाषामा लेखिएका साहित्यिक कृतिहरूका लागि विश्वकै प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। सन् २०१४ देखि युके वा आयरल्यान्डमा प्रकाशित अंग्रेजी भाषाका पुस्तकहरूका लागि लेखकको राष्ट्रियता नहेरी जुनसुकै देशका लेखकलाई पनि प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरिएको छ।