: गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप प्रभावित विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गर्दै बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । अब उच्च शिक्षालाई समेत समेटेर छात्रवृत्तिको दायरा विस्तार गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ । यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने ।
व्यवस्थाअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ । यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था र स्थानीय तहसँग समन्वय गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा सम्बन्धित स्थानीय तहमार्फत आवश्यक व्यवस्था मिलाइनेछ ।
त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा उपलब्ध छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न निर्देशन दिइएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
सरकारको यो निर्णय कार्यान्वयनमा आएसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालयदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययनको अवसर पाउनेछन् । विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्ने उद्देश्यले सरकारले यो व्यवस्था अघि बढाएको हो ।