: पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ परेका छन् । शुक्रबार आफ्नै दलका केही सांसदसहितको समर्थनमा संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गरेसँगै पेना पदमुक्त भएका थिए । त्यसको केही मिनेटलगत्तै उनलाई गिरफ्तार गरिएको हो।
यो सम्पूर्ण घटनाक्रमको मुख्य कारण यसै हप्ताको सुरुमा ‘युनो बैंक’ बन्द भएपछि उत्पन्न संकटलाई मानिएको छ। पेना गत बिहीबार नै आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए। तर, सांसदहरूले उनको राजीनामा स्वीकार गर्नुको साटो महाभियोग चलाउने र उनीमाथि गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोप लगाउने निर्णय गरे।
यस कारबाहीका कारण उनले सिनेटको आजीवन सदस्यता र पूर्वराष्ट्रपतिको रूपमा प्राप्त हुने कानुनी उन्मुक्ति (छूट) समेत गुमाउनुपरेको छ। गत वर्षसम्म युनो बैंकको स्वामित्व भएको कम्पनीमा पेनाको सेयर रहेको थियो। यद्यपि, उनले कुनै पनि किसिमको गैरकानूनी कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्।
उक्त डिजिटल बैंक बन्द भएपछि र पराग्वेको केन्द्रीय बैंकले यसलाई आफ्नो नियन्त्रणमा लिएपछि देशको आधाभन्दा बढी जनसंख्या आफ्नो खातामा रहेको रकम झिक्नबाट वञ्चित भएको छ।
पेनालाई पदबाट हटाउन लगाइएको महाभियोग प्रस्तावमा उनले स्वार्थको द्वन्द्व सिर्जना गरेको, नियामकको निगरानीमा हेरफेर गरेको, पेन्सन कोषको रकम दुरुपयोग गरेको तथा केन्द्रीय बैंकसँग जोडिएको विषयमा संस्थागत रुपबाट सत्य लुकाउने प्रयास गरेको आरोप लगाइएको छ।