: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ४ दशमलव ७ बिलियन डलर जति आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ। कुल जीडीपीको १० प्रतिशत बराबरको क्षति हुनु ठूलो सङ्कट भए पनि तत्कालका लागि सरकारकै बजेटभित्रबाट राहत र पुनरुत्थानका कामहरू भइरहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले यसपटक २१ सय २४ अर्बको बजेटको सीमा नाघ्न गाह्रो भए तापनि, अहिलेकै विनियोजनबाट ठेक्का प्रक्रिया अगाडि बढाएर आगामी वर्षको बजेटमा पुनर्निर्माणको अंश थपी आकार बढाउन सकिने व्यावहारिक पक्षमा छलफल भइरहेको समेत उल्लेख गरे।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने सन्दर्भमा अन्तिम चरणको काम भइरहेको बताए। बाढीका कारण प्रभावित भई सङ्कटग्रस्त घोषणा गरिएका पालिकाहरूमा रकम पठाइसकिएको भन्दै उनले उक्त रकम खर्च गरेर थप बजेट माग गर्नेबित्तिकै प्रधानमन्त्री कोषबाट तुरुन्तै पैसा पठाउने व्यवस्था गरिएको जानकारी दिए।
बैठकमा समितिका सदस्यहरूले प्रभावित नागरिकको भावनाअनुरूप बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा केन्द्रित हुन सुझाव दिएका थिए।