: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ।
छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सार्वजनिक पदमा नियुक्त व्यक्तिको नागरिकतादेखि आर्थिक पारदर्शितासम्मका विषयमा प्रश्न उठेकाले आम नागरिकले सत्यतथ्य जानकारी पाउनुपर्ने बताए।
उनले आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विभिन्न प्रश्न तथा जिज्ञासा सार्वजनिक भइरहँदा सम्बन्धित निकायले ती विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे। सार्वजनिक जिम्मेवारीमा पुगेका व्यक्तिको नियुक्ति प्रक्रियाका साथै उनीहरूको पृष्ठभूमि र पारदर्शिताका विषयमा पनि नागरिकले चासो राख्नु स्वाभाविक भएको उनको भनाइ छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले यस विषयमा लामो समयदेखि खबरदारी गर्दै आएको उल्लेख गर्दै अभियन्ताहरूले नागरिकले उठाएका प्रश्नलाई बेवास्ता गर्न नहुने बताएका छन्।