: नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको दाबी छ।
महामन्त्री सङ्ग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्। राणा शासन, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै नहुने भन्दै महामन्त्री सङ्ग्रौलाले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी समेत दिइन्।
उनले सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै यसबाट देशमा लोकतन्त्र नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको बताइन्।