: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्। कार्कीले आफूलाई हटाउने कुनै कानुनी आधार र कारण नखुलाई, स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको दाबी गरेका छन्।
उनले उक्त निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गरेका छन्।
बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका कार्कीको निवेदन दर्ता भएन। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।