: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्।
सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन्। विजेता टिम तथा खेलाडीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार प्रतियोगितालाई निष्पक्ष, प्रतिस्पर्धात्मक र जिल्लास्तरको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष नियमसमेत बनाइएको छ। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट एक/एक टिम सहभागी हुनेछन्। प्रत्येक टिममा सम्बन्धित जिल्लाकै खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, टिमलाई थप प्रतिस्पर्धी बनाउन प्रत्येक जिल्लाले आफ्नो टिममा जिल्लाबाहिरका बढीमा तीन जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेर सहभागी गराउन पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाइ छ।
प्रतियोगिताले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका भलिबल खेलाडीको प्रतिभा उजागर गर्नुका साथै जिल्लाको खेलकुद विकास र आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सन्धिखर्कमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुनुले स्थानीय खेलप्रेमीमा उत्साह थप्नुका साथै अर्घाखाँचीलाई खेलकुदको माध्यमबाट प्रदेशभर चिनाउनसमेत मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।