: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्।
अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए।
माइतीमा रहेकी श्रीमतीलाई कुरा गर्नु छ भन्दै नजिकैको आँपबारीमा बोलाएर अंसारीले शरीरको विभिन्न भागमा छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ। घटनापछि खोजी गर्दै जाने क्रममा अंसारी होटलबाट पक्राउ परेका हुन्। अंसारीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते गुल्सानको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भईरहेको छ। घटनालगत्तै आफन्तले उनलाई नारायणी अस्पताल पुर्याएका थिए। त्यहाँबाट वीरगन्ज हेल्थ केयरमा ल्याई आईसियुमा राखेर उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।