: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्।
उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ग्यारेन्टी र ढुक्कसँग लगानी गर्न सकिने अवस्थाको सुनिश्चितता गर्ने कानुनहरू निर्माण तथा प्रदर्शन गर्नु सम्मेलनको मुख्य लक्ष्य रहेको बताए। सार्वजनिक खरिदमा नेपाली लगानीकर्ता, उद्यमी, उद्योगपति वा विक्रेताहरूलाई प्राथमिकता दिने र विदेशी लगानीलाई वैकल्पिक रूपमा मात्रै सार्वजनिक खरिदमा प्रयोग गर्ने गरी निर्देशिका जारी गरी कार्यान्वयनको चरणमा लगिएको उनले बताए।
आगामी मंसीर २३ र २४ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
दुईदिने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरिएको छ, जसमध्ये हालसम्म २३ वटा परियोजना पहिचान भइसकेको समेत मन्त्रालयले जानकारी दिएको छ।