ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।
उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका हुन् ।
औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता हो । चीनले भने ताइवानलाई आफ्नो एउटा प्रान्तका रूपमा दाबी गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो । तर करिब १४ अर्ब डलर बराबरको दोस्रो हतियार बिक्री प्याकेज भने अघि बढ्न सकेको छैन ।
मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा सफलता हासिल गरेपछि १४ अर्ब डलरको हतियार बिक्री प्याकेजमा कुनै परिवर्तन आउँछ कि भन्ने पत्रकारको प्रश्नमा रक्षामन्त्री कूले दुवै अमेरिकी राजनीतिक दलको बलियो समर्थन रहेको बताए ।
‘मलाई लाग्छ, अमेरिकी कंग्रेस सधैँ दलगत स्वार्थभन्दा माथि रहेर ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग गर्ने पक्षमा छ,’ उनले भने ।
उनले अमेरिकी कंग्रेसका सदस्यहरूसँग निरन्तर संवाद गर्ने र हतियार बिक्री प्रक्रिया निर्धारित समयमै अघि बढाउन अमेरिकी युद्ध मन्त्रालयसँग पनि निकट सम्पर्क कायम राख्ने बताए ।