। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ ।
लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् ।
लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार पर्यटकीय क्षेत्रको सुरक्षा, पोखराको पर्यटन छविमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण तथा आसन्न तिहार र छठ पर्वलाई सुरक्षित र सभ्य बनाउन प्रहरीले विशेष अभियान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले कात्तिक १८ गतेदेखि अपरेसन सभ्यता सञ्चालन गरेको कास्की प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
अभियानअन्तर्गत कात्तिक १९ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा जुवातास खेल्ने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक गतिविधिमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको पासवानले जानकारी दिए । नियन्त्रणमा लिइएकामध्ये १० जना जुवातास खेल्ने, ६ जना अवाञ्छित गतिविधिमा संलग्न, २ जना झैझगडा गर्ने र ३ जना चोरी, मादक पदार्थ सेवनलगायत गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अभियानका क्रममा २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ । तीमध्ये १५ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने २ वटा सवारीसाधनका चालकलाई अन्य ट्राफिक कसुरमा कारबाही गरिएको छ । १० वटा सवारीसाधनलाई होल्डमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले लेकसाइडमा पर्यटकलाई दुःख दिने, अनावश्यक विवाद सिर्जना गर्ने तथा पर्यटन क्षेत्रको शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ ।