: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ।
सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार राशि सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न
विश्वकपको तुलनामा दोब्बर हुनेछ। सन् २०२३ को प्रतियोगितामा फिफाले ११ करोड अमेरिकी डलर पुरस्कारका रूपमा वितरण गरेको थियो। सन् २०१९ को विश्वकपमा भने पुरस्कार राशि तीन करोड डलर मात्रै थियो। फिफाको यो तयारीले महिला फुटबलमा बढ्दो आकर्षण, व्यावसायिक सम्भावना र खेलाडीको योगदानलाई आर्थिक रूपमा समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यद्यपि, पुरस्कार राशि दोब्बर बनाउने प्रस्तावले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसअघि व्यक्त गरेको महिला र पुरुष विश्वकपको पुरस्कार राशिमा समानता कायम गर्ने लक्ष्य भने पूरा हुने छैन।
सन् २०२६ को पुरुष विश्वकपमा सहभागी टोलीका लागि कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार छुट्याइएको थियो। त्यसको तुलनामा सन् २०२७ को महिला विश्वकपका लागि प्रस्ताव गरिएको २२ करोड डलर निकै कम हो। पुरुष विश्वकपमा ४८ टोली सहभागी हुँदा महिला विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। फिफा अध्यक्ष इन्फान्टिनोले सन् २०२३ मै सन् २०२६ को पुरुष र २०२७ को महिला विश्वकपमा पुरस्कार राशिमा समानता कायम गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए। तर, पछिल्लो प्रस्तावले उक्त प्रतिबद्धता तत्काल पूरा नहुने देखिएको छ।
पुरस्कार राशिसँगै विश्वकपमा सहभागी हुने खेलाडीले पाउने न्यूनतम रकमसमेत बढाउने तयारी गरिएको छ। सन् २०२३ को विश्वकपमा प्रत्येक खेलाडीले न्यूनतम ३० हजार अमेरिकी डलर पाउने व्यवस्था गरिएको थियो। आगामी संस्करणमा उक्त रकम बढाएर ६० हजार डलर पुर्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, विश्वकपमा खेलाडी उपलब्ध गराउने तथा खेलाडी उत्पादनमा योगदान पुर्याउने क्लबलाई दिइने रकमसमेत दोब्बर बनाउने योजना छ। सन् २०२३ मा क्लबहरूका लागि १ करोड १३ लाख डलर छुट्याइएकोमा आगामी संस्करणमा करिब २ करोड २६ लाख डलर पुर्याउने तयारी गरिएको छ।
यसअघि अक्टोबर २२ मा फिफाले महिला विश्वकपमा सहभागी हुने प्रत्येक राष्ट्रिय फुटबल संघलाई तयारी खर्चबापत २५ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरिसकेको छ। यो रकम सन् २०२६ को पुरुष विश्वकपमा सहभागी टोलीलाई उपलब्ध गराइएको तयारी खर्चसरह हो। सन् २०२३ मा महिला विश्वकपका सहभागी राष्ट्रले तयारी खर्चबापत कुल तीन करोड सात लाख डलर पाएका थिए। आगामी संस्करणमा यो रकम बढेर आठ करोड डलर पुग्नेछ।
फिफाले आगामी महिला विश्वकपमा सहभागी खेलाडीलाई पुरुष खेलाडीसरह सुविधा उपलब्ध गराउने पनि जनाएको छ। यसअन्तर्गत हवाई यात्रामा बिजनेस क्लास वा चार्टर्ड उडान तथा होटलमा खेलाडीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिनेछ। प्रतियोगिताबाट प्राप्त हुने अतिरिक्त आम्दानी सहभागी राष्ट्रिय संघलाई वितरण गरिने र त्यसको निश्चित हिस्सा खेलाडीका लागि छुट्याइने फिफाको योजना छ।
महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने प्रस्तावबारे भने फिफाले औपचारिक अन्तिम निर्णय गर्न बाँकी छ। फिफाको आगामी डिसेम्बरमा बस्ने परिषद् बैठकले आर्थिक वितरणसम्बन्धी थप विषयमा छलफल गरी अन्तिम निर्णय गर्नेछ। ब्राजिलमा सन् २०२७ को जुन २४ देखि जुलाई २५ सम्म महिला विश्वकप आयोजना हुनेछ। दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको महिला विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।