। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महँगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो,’ उनले बिहीबार भनेका छन् ।
उनले प्रहरी महानिरीक्षक कार्कीलाई कुन मुद्धा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा समेत विरोधाभास देखिएको भन्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन् ।
‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’ आङ्देम्बेले प्रश्न गरेका छन् ।
उनले एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरे पनि उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन् ।
‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले प्रश्न गरेका छन् ।
आङ्देम्बेले प्रहरी संगठनलाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका छन् । जनताले वर्तमान सरकारलाई सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवनस्तर बदल्न मत दिएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।
‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ । यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनको भनाइ छ ।