: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको राजनीतिक र कानुनी लडाइँमा आर्थिक लेनदेन तथा अनुचित काम आफूले नगरेको बताएका छन्। ' १८ करोडको कुरा गर्छन्, पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरेको छैन,' थापाले भनेका छन्।'
इनम सापकोटासँग जोडिएर आएको अडियोका विषयमा सार्वजनिक रूपमा जवाफ दिएर हिँड्नुपर्ने ? भन्दै थापाले प्रश्न गरेका छन्। 'प्रश्न हामीलाई सोध्ने होइनस इनम सापकोटा प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो,' थापाले अगाडि भनेका छन्, 'अनुसन्धान भएपछि दूधको दूध, पानीको पानी छुट्टिन्छ, हामी त्यसकै प्रतीक्षामा छौँ।'
त्यस्तै, थापाले आफूभित्र डराउने जिनिस नै नरहेको उल्लेख गर्दै आफू तर्सिने बानी नरहेको बताएका छन्। आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको कुरामा विश्वास गर्न पनि थापाले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आग्रह गरेका छन्। आफ्ना हातहरू सफा रहेका र मनमा कुनै दाग तथा कालो नरहेको समेत उनको भनाइ छ।