: नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विचौलिया भनिएका इनम सापकोटाको प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनकहाँ कसरी पुग्यो भन्दै प्रश्न गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले कब्जामा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको हातमा पुग्नु र त्यसबाट के तथ्य मेटाउन खोजिएको हो भन्ने विषय गम्भीर रहेको उनको भनाइ छ।
कांग्रेसमाथि आर्थिक कारोबारको आरोप लगाउँदै सार्वजनिक गरिएको इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको शर्माले स्पष्ट पारे। उनले आफूहरूमाथि लगाइएका आरोप, तथाकथित अडियो बयान र त्यससँग सम्बन्धित प्रचार निराधार, कपोलकल्पित र नियोजित भएको दाबी गरे।
‘हामीमाथि लगाइएको आरोप, तथाकथित अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित छन्। यस्तो षड्यन्त्रका पछाडि र संलग्न पात्रहरूका विषयमा समयक्रममा थप उजागर हुँदै जानेछन्,’ उनले भने।
शर्माले कांग्रेसमाथि लगाइएका आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। कांग्रेस प्रत्येक प्रश्नको सामना गर्न र छानबिनका लागि तयार रहेको उल्लेख गर्दै उनले सबै विषयको निष्पक्ष अनुसन्धान गर्न माग गरे।
उनले सरकारको नियन्त्रणमा रहेका व्यक्तिको बयान र अडियो सार्वजनिक गर्ने प्रक्रियामाथि पनि प्रश्न उठाए। असम्बन्धित र आफूहरूले कहिल्यै नभेटेको व्यक्तिका विषयलाई लिएर किस्ता-किस्तामा अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको उनको आरोप छ।
शर्माले अहिलेको सरकारले प्राथमिकता दिनुपर्ने विषयबाट ध्यान मोडेको टिप्पणीसमेत गरे। भोटेकोशी विपद्पछि पुनर्स्थापना, बेपत्ता नागरिकको खोजी तथा आसन्न कोप-३१ जस्ता विषयमा राष्ट्रिय बहस हुनुपर्ने बेला सरकार आईजीपी हटाउने विषयमा केन्द्रित भएको उनको भनाइ थियो।
‘७५ वर्षको उमेरमा कुनै प्रधानमन्त्रीले पाँच वर्ष पूरा गर्न पाएका छैनन्। यो सरकारले त्यो अवधि पूरा गरोस् भन्ने मेरो चाहना छ। तर, सरकार आईजीपी हटाएर बसेको छ,’ उनले भने।
उनले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालय श्रम शिविर हो कि भन्ने प्रश्न गरे। सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको भन्दै जनताले दिएको मतको सदुपयोग हुन नसकेको उनले बताए। 'सिंहदरवारमा रमिता चलिरहेको छ। बालुवाटारमा रमिता चलिरहेको छ। मतदाताले दिएको मतको सदुपयोग यो सरकारले गर्न सकेको छैन,' उनले भने।
वरिष्ठ उपाध्यक्ष शर्माले प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपप्रति पनि चिन्ता व्यक्त गरे। पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैका अगाडि समान रूपमा प्रश्न उठाउनुपर्ने बताउँदै उनले मिडियामाथि दबाब सिर्जना गर्ने गतिविधिको विरोध गर्नुपर्ने बताए।
‘कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा पत्रकारहरूले स्वतन्त्र रूपमा कलम चलाउन पाएका छन् कि छैनन् भन्ने विषयले निर्धारण गर्छ,’ उनले भने। मिडियाको गेटमा गाडी तेर्स्याइएको विषयमा पत्रकारहरूले फलोअप नगरेको भन्दै उनले प्रश्नसमेत गरे।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलसँगै सञ्चारकर्मीको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उनले प्रेसको घाँटी निमोठ्न नहुने बताए।
शर्माले नेपाली कांग्रेस खुलारूपमा छलफल गर्न तयार रहेको बताउँदै न्यायपालिकामाथि उठेका प्रश्नमा पनि विधिको शासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याए।
त्यस्तै कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ थियो। भेट हुँदैमा त्यसलाई अस्वाभाविक अर्थ लगाउन नहुने उनले बताए।