: नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरवार र बालुवाटारमा रमिता चलिरहेको बताएका छन्। उनले सरकारले जनताले दिएको मतको सदुपयोग गर्न नसकेको आरोप लगाउँदै मुलुकका प्राथमिक विषय छाडेर अनावश्यक विवादमा अल्झिएको बताए।
विशेष महाधिवेशन र त्यसपछि सम्पन्न १५औँ महाधिवेशनलाई लिएर बजारमा नियोजित रूपमा भ्रम फैलाइएको भन्दै शर्माले आपत्ति जनाए। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको विषयमा सर्वोच्च अदालतले समेत वैशाख ४ गते फैसला गरिसकेको अवस्थामा सरकारी सञ्चाल गृहबाटै नियोजित रूपमा भ्रम फैलाउनु महाधिवेशन प्रतिनिधि, निर्वाचन आयोग र सर्वोच्च अदालतकै अपमान भएको उनको भनाइ छ।
उनले आगामी पाँच दिनपछि सुरु हुन लागेको कोप-३१, भोटेकोशी विपद् र पुनर्स्थापनाको विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। भोटेकोशी विपद्मा हजारौँ नागरिक प्रभावित भएको र पुनर्स्थापनाका लागि अर्बौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यी विषयमा राष्ट्रिय बहस हुनुपर्ने बताए।
कांग्रेसले सरकारलाई सहयोग गर्दै आएको र राष्ट्रिय सभामा आएका विधेयक पारित गर्नेदेखि विपद्का समयमा समेत साथ दिएको शर्माले बताए। तर, सरकार भने प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा केन्द्रित भएको उनको आरोप छ।
प्रधानमन्त्रीका सल्लाहकारको कब्जामा एक विचौलियाको मोबाइल कसरी पुग्यो भन्ने प्रश्न उठाउँदै उनले मोबाइलमा भएका तथ्य मेटाउन खोजिएको हो कि भन्दै अनुसन्धान प्रक्रियामाथि प्रश्न गरे। प्रधानमन्त्री कार्यालयमा विभिन्न बहानामा कर्मचारीहरू थुनिएको विषयमा उनले भने- ‘प्रधानमन्त्री कार्यालय श्रम शिविर हो?’
शर्माले वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए। ७५ वर्षको उमेरमा पनि कुनै प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यो सरकारले भने कार्यकाल पूरा गर्नुपर्ने धारणा राखे।
यसैबीच, कांग्रेसले आफूहरूमाथि लगाइएका आरोप, तथाकथित अडियो र त्यससँग जोडिएका प्रचारहरू निराधार, कपोकल्पित र नियोजित भएको दाबी गरेको छ। यस्ता घटनामा संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने कांग्रेसको भनाइ छ।
कांग्रेसले आफूहरूमाथि उठेका प्रत्येक प्रश्नको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको जनाएको छ।