: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कबिन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन्। बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यसमा पार्टीको कुनै सुझाव वा राय नरहेको प्रतिक्रिया दिए।
‘पछिल्लो केही दिनयता विकसित विभिन्न घटनाक्रमको विश्लेषण गरी सरकारले आवश्यकताका आधारमा उक्त निर्णय लिएको हो’, उनले भने, ‘सरकारको यो निर्णय पार्टीको भन्दा पनि सरकारको हो। सञ्चारगृहमा समाचार कक्षमा प्रहरी प्रवेश गरेको विषय पनि थियो। विचौलियाहरूसँगको संलग्नताको विषय पनि हुनसक्छ । यी सबैलाई विश्लेषण गरी आज जिम्मेवारी हेरफेर गरिएको हो।’ निर्णय लिनका लागि सरकारसँग समय अभावका कारण पार्टीसित छलफल नगरिएको हुनसक्ने उनको तर्क छ।
बुधबार दिनभर आफू गोरखा जनगुनासो सुन्ने कार्यक्रममा व्यस्त भएकाले पार्टीको कुनै पनि तहमा संवाद गर्न नपाएको उनले स्पष्ट पारे। आइजीपी फेरबदलमा पार्टीको भूमिका प्रधान कि, सरकारको? भन्ने प्रश्न उब्जिरहेका बेला उनले सरकारकै मुख्य भूमिका रहेको उल्लेख गरे। उनले सरकारले सबै काममा पार्टीसँग सरसल्लाह नगर्न पनि सक्ने जिकिर गरे।
सरकारले बुधबार दानबहादुर कार्कीलाई हटाएर नयाँ आईजीपीमा डा. मनोज केसीलाई नियुक्त गरेको थियो।