: अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तुष्टि देखाउँदै डेमोक्र्याटलाई जिताएपछि क्यानडाले अमेरिकासँगको व्यापार वार्तामा अनुकूल वातावरण बन्ने अपेक्षा गरेको छ ।
क्यानडाको ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले निर्वाचन परिणामलाई ‘क्यानडाको विजय’ भन्दै खुसी व्यक्त गरेका छन् । उनले ट्रम्प प्रशासनले लगाएको भन्सार शुल्कप्रति अमेरिकी जनताले असन्तुष्टि जनाएको बताएका छन् ।
अमेरिकी मतदाताका लागि बढ्दो महँगी प्रमुख चुनावी मुद्दा बनेको थियो। सेप्टेम्बरमा गरिएको एक सर्वेक्षणअनुसार करिब ७५ प्रतिशत अमेरिकीले भन्सार शुल्कका कारण वस्तु तथा सेवाको मूल्य बढेको बताएका थिए ।
मेन र मिसिगनजस्ता राज्यमा पनि भन्सार शुल्क चुनावी प्रतिस्पर्धाको महत्त्वपूर्ण मुद्दा बनेको थियो । क्यानडासँगको व्यापारमा निर्भर अमेरिकी अटोमोबाइल उद्योगमा शुल्कको प्रभाव परेको छ । ट्रम्प प्रशासनले अमेरिकाबाहिर बनेका कार तथा ट्रकमा लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण ओन्टारियोमा रोजगारी कटौती भएको छ भने मिसिगनका उपभोक्ताको खर्चसमेत बढेको छ ।
रिपब्लिकन उम्मेदवारहरूले समेत ट्रम्पको शुल्क नीतिबाट आफूलाई अलग देखाउने प्रयास गरेका थिए । तर डेमोक्र्याट उम्मेदवारहरूले भने उक्त नीतिको खुलेर आलोचना गरेका थिए ।
यद्यपि, अमेरिकी संसद्मा डेमोक्र्याटको प्रभाव बढ्दैमा तत्काल भन्सार शुल्क हट्ने निश्चित छैन । ट्रम्पले अधिकांश शुल्क संसद्को स्वीकृतिबिनै कार्यकारी आदेशमार्फत लागू गरेका हुन् । उनले संसद्बाट पारित हुने आफूलाई मन नपर्ने विधेयक रोक्न राष्ट्रपतिको भिटो अधिकार प्रयोग गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
हाल अमेरिका र क्यानडाबीच अटोमोबाइल, स्टिल, आल्मुनियम तथा वनजन्य उत्पादनलगायत क्षेत्रमा विभिन्न तहका भन्सार शुल्क लागू छन् । व्यापार वार्ता विफल भएपछि ट्रम्प प्रशासनले क्यानडाका विभिन्न वस्तुमा थप ५० प्रतिशत शुल्क लगाएको थियो । जवाफमा क्यानडाले पनि अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाएको छ ।
निर्वाचनअघि नै ट्रम्पले क्यानडासँगको व्यापार सम्झौता नजिक पुगेको बताएका थिए । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि पछिल्लो वार्तामा अमेरिकी पक्षले कम माग राख्न र बढी प्रस्ताव गर्न थालेको बताएका छन् ।
पूर्वकूटनीतिज्ञ कोलिन रोबर्टसनका अनुसार निर्वाचनमा पराजय भोगेपछि ट्रम्पमाथि क्यानडासँग व्यापार सम्झौता गर्न थप दबाब पर्न सक्छ । उनका अनुसार नयाँ अमेरिकी सांसदहरू आगामी जनवरीमा कार्यभार सम्हाल्नुअघि नै सम्झौता टुंग्याउने क्यानडाका लागि उपयुक्त अवसर छ ।
तर क्यानडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङले भने मध्यावधि निर्वाचनको परिणामले तत्काल कुनै परिवर्तन नल्याउने बताएका छन् ।
यसबीच क्यानडाले अमेरिकासँगको व्यापार वार्ता सफल बनाउन प्रयास जारी राखेको छ । प्रधानमन्त्री कार्नीले आवश्यक परे नयाँ अमेरिकी राष्ट्रपति निर्वाचित नभएसम्म पनि सम्झौताका लागि प्रतीक्षा गर्न तयार रहेको बताइसकेका छन् ।