: युक्रेनले रुसी सेनाको दोहोरो हवाई बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको घटनासम्बन्धी प्रहरीको बडीक्याम भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा मानवीय सहायता वितरण केन्द्र र भूमिगत आश्रयस्थललाई निशाना बनाइएको युक्रेनको दाबी छ ।
युक्रेनको राष्ट्रिय प्रहरीले बुधबार सार्वजनिक गरेको भिडियोमा पहिलो बम विस्फोटपछि दक्षिणी गाउँ कामिशुभाखाका स्थानीय बासिन्दा भूमिगत आश्रयस्थलतर्फ गएको देखिन्छ । त्यसको केही समयपछि दोस्रो शक्तिशाली विस्फोट भएको र आश्रयस्थलमा आगो लागेको दृश्य भिडियोमा कैद भएको बिबिसिमा उल्लेख छ ।
उक्त भिडियो आक्रमणमा मारिएका एक प्रहरी अधिकारीको शरीरमा जडान गरिएको क्यामेराबाट खिचिएको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार घटनास्थलमा भग्नावशेषमुनि अझै ३० जनाभन्दा बढी मानिस पुरिएको आशंका छ। उद्धार तथा खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ ।
युक्रेनका अनुसार रुसले उक्त गाउँमा नौवटा ग्लाइड बम प्रहार गरेको थियो। तीमध्ये केही बमको तौल तीन हजार किलोग्रामसम्म रहेको बताइएको छ । मानवीय सहायता लिन स्थानीय बासिन्दा भेला भएका बेला आक्रमण भएको युक्रेनको दाबी छ ।
जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले सुरुमा सहायता लिन आएका मानिसलाई र त्यसपछि घटनास्थल पुगेका उद्धारकर्मी तथा प्रहरीलाई निशाना बनाएको आरोप लगाएका छन् ।
उनले उक्त आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया कमजोर रहेको भन्दै घटनालाई रुसले गरेको युद्ध अपराधको अर्को उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
आक्रमणबाट आश्रयस्थल पूर्ण रूपमा ध्वस्त भएको छ भने घटनास्थलमा ठूलो खाल्डो बनेको छ। रुसी सेनाले भने यस घटनाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेका थिए। त्यसयता दुई देशबीच युद्ध जारी छ ।