। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।
बुधबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराखी निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका हुन् ।
उनले पछिल्लो तीन दशकको उपलब्धिलाई मात्र पर्याप्त नमानेर नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यान दिँदै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको मन्त्री श्रेष्ठले धारणा राखे ।
सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको भन्दै उनले यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभइ स्थानीय तहको आर्थिक विकास, ऊर्जामा आत्मनिर्भरताको नयाँ अभ्यास पनि भएको बताए ।
प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकतालाई समेत अध्ययन गरी योजना बनाउनुपर्ने भएकाले ग्यासमुक्त पालिकाको अवधारणालाई कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।