मुख्य समाचार
ट्रम्पलाई ठूलो धक्का, दुवै सदनमा डेमोक्र्याटको कब्जा
ट्रम्पलाई ठूलो धक्का, दुवै सदनमा डेमोक्र्याटको कब्जा

: मंगलबारको अमेरिकी मध्यावधि चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदन- प्रतिनिधि सभा र सिनेटमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेसँगै अमेरिकी राजनीतिमा ठूलो हलचल मच्चाएको छ ।

तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो। प्रारम्भिक नतिजाअनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले २२५ सिटमा अग्रता लिएको देखाएको छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले १३७ सिटमा अग्रता लिएको छ।

यसैगरी सिनेटको अहिलेसम्म ३३ सिटको नतिजा घोषणा भइसकेको छ। यीमध्ये डेमोक्र्याटिक पार्टीले २० र रिपब्लिकन पार्टीले १३ सिट जितेको छ। बाँकी २ सिटको मतगणना जारी छ। यस्तै गभर्नर पदका लागि भएको चुनावको नतिजा पनि सार्वजनिक भएको छ। जसमध्ये ३१ राज्यको नतिजा घोषणा गरिएको छ। जसमा ३६ सिटमा प्रतिस्पर्धा भएको छ। २० डेमोक्र्याट र ११ रिपब्लिकनले जितेका छन्। ५ राज्यहरूमा मतगणना जारी छ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा व्यापक जनसमर्थनका साथ दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो नतिजा ठूलो राजनीतिक झट्का साबित भएको छ। कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण कायम भएसँगै ट्रम्पको बाँकी कार्यकालमा शक्ति सन्तुलन र नियन्त्रणको नयाँ अध्याय सुरु भएको छ।

ट्रम्पले स्वीकारे हार

सुरुवाती प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले मध्यावधिक चुनावको नतिजालाई स्वीकार गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीसँग मिलेर काम गर्ने संकेत दिएका छन्। उनले विपक्षीले चुनावमा 'राम्रो काम गरेको' टिप्पणी समेत गरे। आफ्नो पार्टीको पराजयबारे बोल्दै ट्रम्पले इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धन तथा उपभोग्य वस्तुको मूल्यवृद्धिलाई हारको प्रमुख कारणका रूपमा स्वीकार गरेका छन्।

ट्रम्प किन भए असफल ? यी हुन् मुख्य ५ कारण

इरान युद्ध र अकासिदो महँगी

ट्रम्पले आफ्नो चुनावी अभियानमा 'अनन्त युद्धहरू' अन्त्य गर्ने वाचा गरेका थिए। तर, इरानसँगको नयाँ सैन्य संघर्षले गर्दा इन्धन, खाद्यान्न, घरभाडा , यात्रा र कृषि सामाग्रीको मूल्य अत्यधिक बढेको छ। युद्धको आर्थिक भार अमेरिकी परिवारहरूको भान्सासम्म पुगेपछि मतदाताहरू ट्रम्प प्रशासनप्रति आक्रोशित बने।

भन्सार महशुल नीतिको उल्टो असर

अन्य देशहरूमाथि भारी ट्यारिफ थोपरेर ती देशहरूलाई आर्थिक भार बोकाउने ट्रम्पको नीति आफ्नै लागि आत्मघाती साबित भयो। 'कील इन्स्टिच्युट फर द वर्ल्ड इकोनोमी' को अध्ययनअनुसार, करको करिब ९६ प्रतिशत भार विदेशी निर्यातकर्ताहरूले नभई स्वयं अमेरिकी आयातकर्ता र उपभोक्ताहरूले बेहोर्नुपरेको थियो।

अध्यागमन नीतिको आक्रामक शैली

सीमा सुरक्षा चुस्त बनाएको दाबी गरे पनि अमेरिकी सहरहरूमा अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्टहरूको आक्रामक र कडा परिचालनलाई धेरैजसो नागरिकले व्यक्तिगत स्वतन्त्रता र आन्तरिक व्यवस्थामाथिको खतराका रूपमा लिए।

रोजगारी सिर्जनामा ढिलाइ

ट्रम्पले विदेशी लगानी अमेरिका भित्र्याउन सफलता पाए पनि त्यसलाई तत्काल सोझै रोजगारीमा रूपान्तरण गर्न सकेनन्। सीप र तालिमको अभावका कारण वाचा गरिएअनुसार देशभित्र रोजगारी सिर्जना हुन नसक्दा सर्वसाधारणमा निराशा छायो।

रिपब्लिकनको पकड क्षेत्रमा डेमोक्र्याटकाे कब्जा

यो चुनावमा मतदाताहरूमा एक किसिमको पश्चाताप स्पष्ट रूपमा देखिएकाे छ। सन् १९८८ यता डेमोक्र्याटले जित्न नसकेको टेक्सस जस्तो रिपब्लिकनको बलियो पकड भएको राज्यमा डेमोक्र्याटका जेम्स टालारिकोले ५५ प्रतिशत मतका साथ जित निकाले। यसका साथै आयोवा, ओहायो, अलास्का, क्यान्सास, मिसिगन, नर्थ क्यारोलिना र जर्जिया जस्ता राज्यहरूमा डेमोक्र्याटहरूले अप्रत्याशित नतिजा निकाल्दै ट्रम्पको २०२४ को चुनावी गठबन्धनलाई भत्काइदिए।

अब के होला अमेरिकाको राजनीति ?

कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण आएसँगै अब ट्रम्प प्रशासनले बजेट निर्माण, विधेयक पारित र प्रशासनिक निगरानीमा कडा चुनौतीको सामना गर्नुपर्नेछ।

यद्यपि, वैदेशिक नीति र कार्यकारी अधिकारको प्रयोगका मामिलामा ट्रम्पको आक्रामक शैली घट्ने संकेत भने देखिँदैन। चुनावभन्दा केही घण्टा अघि मात्रै केश्म टापुमा भएको आक्रमणले बाह्य मामिलामा ट्रम्पले कडा कदम जारी राख्ने देखाउँछ। तर, आन्तरिक राजनीतिमा भने अब कंग्रेसले ट्रम्पका आक्रामक निर्णयहरूमाथि बलियो अंकुश लगाउने निश्चित छ। मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा ५ करोडभन्दा बढी नागरिकहरुले मतदान गरेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा ‘नाईँ’ भनेका छन्। हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौँ।’ उनले अगाडि लेखेका छन्, ‘यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ ...
: अमेरिकी खर्बपति एलन मस्कले यस वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डाेनाल्ड ट्रम्पकोरिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेका छन्। तर, उनको यो आर्थिक लगानी विफल बनेको छ। 'द न्यूयोर्क टाइम्स' र संघीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मस्कले यस निर्वाचनमा ४७४ मिलियन अमेरिकी डलर (लगभग आधा अर्ब डलर) सहयोग गरेका ...
। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत ...
रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक ...