: सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नगरी जिम्मेवारी मात्रै फेरबदल गरिएको स्पष्ट पारेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारबाही नगरिएको भन्दै जिम्मेवारी मात्रै परिवर्तन गरिएको बताए। उनले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले केही गर्नुपर्ने निर्देशनसमेत आएकाले जिम्मेवारी फेरबदल गरिएको तर्क गरे।
कार्कीलाई प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह,सुझाव र परामर्श दिने जिम्मेवारी दिइएको प्रवक्ता पोखरेलले बताए। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरी उक्त पदमा कार्कीलाई खटाउने निर्णय भएको उनले जानकारी दिए।
यसैबीच,सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर केसीलाई उक्त पदमा नियुक्त गरेको हो।