: युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् ।
आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा कुनै पनि विस्फोटक पदार्थ भेटिएन ।
डब्लिनबाट आएको विमानलाई अवतरणअघि इटालियन वायुसेनाले सुरक्षा निगरानीमा राखेको थियो । यस्तै, पोल्यान्ड, स्पेन र बुल्गेरियामा पनि विमानहरूको सुरक्षा जाँच गरिएको बिबिसिले जनाएको छ ।
स्पेनको मर्सिया विमानस्थलमा अवतरण गरेको म्यानचेस्टरबाट आएको र्यानएयरको विमानमा पनि विस्फोटक पदार्थ नभेटिएको स्पेनी अधिकारीहरूले बताएका छन् । त्यस्तै, लन्डनको हिथ्रो विमानस्थलबाट वार्सा जाँदै गरेको विमानलाई पनि वैकल्पिक विमानस्थलतर्फ मोडिएको थियो ।
बुल्गेरियाका यातायातमन्त्री जिओर्जी पिभका अनुसार इटालीको बर्गामो र आयरल्यान्डको डब्लिनबाट सोफिया आउँदै गरेका दुई विमानमा पनि बमको धम्की आएको थियो । जाँचका क्रममा ती विमानमा पनि कुनै विस्फोटक पदार्थ भेटिएन ।
बेलायत सरकारले यी घटनालाई दुर्भावनापूर्ण झुटा धम्कीको संज्ञा दिएको छ । यद्यपि, विभिन्न देशका अधिकारीहरूले घटनाहरूबीच कुनै समन्वय वा सम्बन्ध छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
विमान सुरक्षा विज्ञहरूले यात्रुवाहक विमानमा एकैपटक विभिन्न देशबाट आएका यस्ता धम्कीलाई असामान्य घटना बताएका छन् । यसअघि सोमबार पनि बमको धम्कीपछि लन्डनबाट बुडापेस्ट जाँदै गरेको विज एयरको विमानले आपत्कालीन अवतरण गरेको थियो । उक्त विमानमा पनि विस्फोटक पदार्थ भेटिएको थिएन ।