: इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्।
अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
राष्ट्रपति पेजेस्कियनले इरान अझै पनि वार्तामार्फत सङ्कट समाधान गर्ने पक्षमा रहेको बताएका छन्। उनका अनुसार इरानका सर्वोच्च नेताले यसअघि वार्ताको दायराभन्दा बाहिर राखिएका विषयमा समेत छलफल गर्न सरकारलाई नयाँ अधिकार दिएका छन्।
तर इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले देश युद्धका लागि तयार रहेको चेतावनी दिएका छन्। उपविदेशमन्त्री काजेम घारिबाबादीले पनि अमेरिकी आक्रमणपछि इरानसँग आत्मरक्षाको वैध अधिकार सुरक्षित रहेको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल, सीएनएन र न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै केसम टापुमा भएका आक्रमण रक्षात्मक प्रकृतिका रहेको जनाएका छन्। इजरायली सेनाले भने उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरान जतिसक्दो चाँडो समाधान चाहिरहेको उल्लेख गरेका छन्।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार केसम टापुमा पाँचवटा विस्फोट भएका थिए। स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको बताएका छन्। गालिबाफले युद्ध रोक्ने वा अघि बढाउने निर्णय अब अमेरिकाको हातमा रहेको बताएका छन्।
अमेरिका र इरानबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिरहेको कतारले पनि सम्झौताको सम्भावना कायमै रहेको जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दुवै पक्ष वार्ताप्रति प्रतिबद्ध रहेको र प्रस्तावहरूको आदानप्रदान भइरहेको बताएका छन्। कतारले अन्तरिम सम्झौताका लागि प्रयास गरिरहेको उनको भनाइ छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहेको पुष्टि गरेका छन्। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै परामर्श र छलफल तीव्र बनाइएको उनले बताएका छन्।
यसैबीच इरानले आफ्ना माग पूरा भए दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने सङ्केत दिएको छ। विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक मानिने उक्त जलमार्ग खुलाउन इरानले रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउन र इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त अघि सारेको छ।
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले दुई दिनभित्र जलमार्ग खोल्न सकिने प्रस्तावलाई इरानको सदाशयताको प्रमाणका रूपमा व्याख्या गरेका छन्।
यद्यपि ट्रम्पले इरानमाथि थप आक्रमण हुन सक्ने चेतावनी दिँदै आएका छन्। उनले मध्य इरानस्थित ‘पिकएक्स माउन्टेन’ नामक सम्भावित आणविक स्थललाई पनि सम्भावित निशानाका रूपमा उल्लेख गरेका छन्। तेहरानले भने त्यहाँ आणविक सुविधा रहेको दाबी अस्वीकार गर्दै आएको छ।
इरानी अधिकारीहरूले अमेरिकी आक्रमण पुनः सुरु भए व्यापक प्रतिकार गर्ने चेतावनी दिएका छन्। यसैबीच तेहरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिरसहित ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको विशाल होर्डिङ बोर्ड राखिएको एएफपीले जनाएको छ।